थियानजिन -चीन_, १५ भदौM प्रधानमन्त्री ओली–सङ्ग्रहालय अवलोकन प्रधानमन्त्री केपी शर्मा ओलीलगायत चीनको थियानजिनस्थित चाउ इन्लाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको आइतबार अवलोकन गर्नुहुँदै । चाउ इन्लाई चीनका पूर्वप्रधानमन्त्री हुनुहुन्छ । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय÷रासस

काठमाण्डौ, भदाै १५ । शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को शिखर सम्मेलनका लागि चीनको तियान्जिन पुग्नभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज हुवाइगाउँमा धान उत्पादनको विशेष क्षेत्र अवलोकन गर्नुभएको छ । उहाँले हुवाइगाउँ क्षेत्रमा धानबाली, बीउ उत्पादन तथा कृषि, पर्यटन र शिक्षालाई जोड्दै थालिएका नमूना कार्यबारे जानकारी लिनुभएको हो ।

यस्तै प्रधानमन्त्री ओलीले नानकाई जिल्लाको चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकनसमेत गर्नुभएको छ । चिनियाँ क्रान्तिका नेता चाउ एनलाई चीनका पूर्वप्रधानमन्त्री हुनुहुन्छ ।

आज भएको अवलोकनमा प्रधानमन्त्रीका साथ प्रथम महिला राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत छङ सङलगायत सहभागी हुनुहुन्थ्यो ।

चीनका राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली हिजो चीन जानुभएको हो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस