दाङ, भदाै १५ । दाङकाे तुलसीपुरमा रहेको बेचनी खोलाले किराना सामान बोकेको भ्यान बगाएको छ। आज दिउँसो करिब सवा १ बजेको समयमा खाद्रेदेखी पर्सेनीतर्फ जाँदै गरेको ग १ ज १७१४ नम्बरको मारुती भ्यान बेचनी खोलामा पर्नासाथ बहावमा बगाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिनोदराज खत्रीले जानकारी दिनुभयो।
उहाँका अनुसार, तुलसीपुर–६ का ४६ वर्षीय राम कुमार रेग्मीले चलाएको उक्त भ्यान बेचनी खोला तर्ने क्रममा बीचमै स्टार्ट बन्द भएको थियो। त्यसपछि खोलाको बहाव बढ्दै गएपछि गाडी करिब १० मिटर तल बगाइयो।
घटनामा कुनै मानविय क्षति नभएको प्रहरीले जनाएको छ। करिब १ घण्टापछि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीसहितको टोलीले प्रहरी चौकी पर्सेनी, प्रहरी चौकी खाद्रेलगायतको सहभागितामा जेसिभिको सहयोगमा उक्त भ्यान निकालिएको छ।












