दाङ, भदौ १५ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घाेराही, दाङ र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी, काठमाण्डौ बीच मुटु रोग उपचारमा सहकार्य हुने भएको छ। यस सम्बन्धमा प्रतिष्ठानका रजिष्ट्रार प्रा. डा. श्याम लम्साल र केन्द्रका निर्देशक डा. रवि मल्लबीच सम्झौतामा हस्ताक्षर गरिएको छ।
सम्झौताअनुसार, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आफ्नो रिफरल सेन्टरको रूपमा प्रयोग गर्नेछ। साथै, प्रतिष्ठानका विद्यार्थी तथा प्रशिक्षार्थीहरू अभ्यासका लागि केन्द्रमा उपस्थित हुन सक्नेछन्।
सम्झौतामा विद्यार्थीहरूले अधिकतम ६ महिनासम्म प्रयोगात्मक अभ्यास गर्न पाउने व्यवस्था गरिएको छ। अभ्यासका लागि लाग्ने शुल्क र अन्य शुल्कहरू राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले केन्द्रमा बुझाउने व्यवस्था पनि गरिएको छ।












