काठमाडौं, भदौ १६ । संघीय निजामती सेवा विधेयकको प्रतिवेदन आजै राष्ट्रिय सभामा पेस गर्ने तयारी भएको छ। अपराह्न सवा ३ बजे बस्ने बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।
विधेयकमा अझै बाँकी केही विवादास्पद विषयलाई सोमबार बिहानको बैठकमा टुंग्याउने प्रयास गरिएको छ। कर्मचारीको अवकाश उमेर हदबाहेकका अधिकांश विषयमा सहमति भइसकेको समितिले जनाएको छ। आइतबार बसेको बैठकमा अवकाश उमेरको प्रावधानमा भने अन्तिम निष्कर्ष ननिकालेपछि आज पुनः छलफल राखिएको हो।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले यस आर्थिक वर्षमै ५९ वर्ष पुगेका निजामती कर्मचारीलाई अनिवार्य अवकाश दिने व्यवस्था गर्नुपर्ने आग्रह गरेकी थिइन्। तर माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सदस्यहरूले भने प्रतिनिधि सभाले संशोधनसहित पठाएको प्रावधान कायम राख्नुपर्ने अडान राखेपछि आइतबारको बैठक निष्कर्षविहीन बनेको थियो।
प्रतिनिधि सभाबाट पारित प्रतिवेदनअनुसार अवकाशको उमेर हद ६० वर्ष तोकिएको छ। सो अनुसार चालु वर्ष ५८ वर्ष, अर्को वर्ष ५९ र त्यसपछि मात्रै ६० वर्ष लागू हुने व्यवस्था छ। तर मन्त्रालयले भने यस्तो व्यवस्था भए आगामी तीन वर्षसम्म नयाँ कर्मचारी भर्नामा समस्या आउने भन्दै आपत्ति जनाउँदै आएको छ।
यसैबीच, राष्ट्रिय सभाको आजको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, २०८२’ पनि टेबल हुने कार्यसूचीमा परेको छ। साथै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।












