काठमाडौं, भदाै १६ । नेकपा एमाले स्थायी समिति सदस्य तथा वैदेशिक मामिला विश्लेषक डा. राजन भट्टराईले सीमा विवादमा कुनै हालतमा सम्झौता नगर्ने अडान स्पष्ट पार्नुभएको छ।
प्रेस चौतारी नेपालले काठमाडौंमा सोमबार आयोजना गरेको अन्तसंवाद कार्यक्रममा डा. भट्टराईले लिपुलेकसहितको भूभाग नेपालको अविभाज्य अंग भएको उल्लेख गर्दै अघिल्लो पुस्ताले ज्यान दिएर जोगाएको भूमिलाई वर्तमान पुस्ताले दृढ अडानका साथ सुरक्षित राख्नुपर्नेमा जोड दिनुभयो।
उहाँले भारत–चीनबीच लिपुलेकलाई व्यापारिक नाका बनाउने सहमति नेपालका लागि अस्वीकार्य रहेको प्रष्ट पार्दै चीनले यस विषयमा नेपाललाई सहयोग गर्नुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा सीमा विज्ञ डा. विष्णु उप्रेती र डा. बुद्धिनारायण श्रेष्ठले पनि प्रमाणसहित नेपालको दाबी निरन्तर अघि बढाउनुपर्ने र सार्वभौमसत्तामा सम्झौता नगर्नुपर्नेमा जोड दिनुभयो।












