घोराही, भदौ १६ । घोराही उपमहानगरपालिकाले गुणस्तरहीन दुध बिक्री गर्ने ९ वटा डेरी पसल प्रत्येकलाई ५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ।

उपमहानगरपालिकाको बजार व्यवस्थापन समितिले सोमबार बसेको बैठकमा निर्णय गर्दै, वडा नम्बर १५ मा रहेका ती डेरी पसलहरूले बिक्री वितरण गरेको दुध नेपाल सरकारले तोकेको गुणस्तर र मापदण्ड अनुसार नभएको पाइएको कारण जरिवाना गर्ने जनाएको छ। यो कारबाही स्थानिय बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७८ को दफा २९(९) र दफा ३०(उपदफा १९क) बमोजिम गरिएको हो।

घोराही उपमहानगरपालिकाले गठन गरेको संयुक्त बजार अनुगमन टोलीले भदौ ५ र ६ गते वडा नम्बर १४ र १५ का १६ वटा डेरी पसलबाट १८ वटा दुधको नमुना संकलन गरी परीक्षण गरेको थियो। परीक्षण प्रतिवेदनको आधारमा बजार व्यवस्थापन समितिले सबै सदस्यको सल्लाह अनुसार जनही ५ हजार रुपैयाँ दरले जरिवाना गर्ने निर्णय गरेको उपभोक्ता हित संरक्षण शाखाका प्रमुख मोहन सिंह सुनारले जानकारी दिनुभयो।

बैठकले बजार अनुगमनलाई तिब्रता दिनेसहित, म्याद गुज्रेका खाद्य तथा अखाद्य वस्तुहरूको नष्ट गर्ने प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ।

साथै, नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले पार्किङ व्यवस्थापनलाई चुस्त बनाउन, नियमित अनुगमन गर्न र अस्पताल क्षेत्र तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडिको पार्किङलाई व्यवस्थित गर्न बोर्डहरू स्थापना गर्ने निर्णय पनि गरेको छ। यस अन्तर्गत नो पार्किङ बोर्ड ३ थान, गति सिमित बोर्ड २ थान र नो हर्न बोर्ड २ थान राखिनेछ। बजारमा अव्यवस्थित पार्किङ स्थललाई जिल्ला प्रहरी, ट्राफिक प्रहरी र नगरपालिकाको संयुक्त प्रयासले व्यवस्थित गरिनेछ।

बैठकमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, वडा नम्बर १८ का अध्यक्ष भरतमणि अर्याल, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्स, पत्रकार महासंघ र डेरी व्यवसायीका प्रतिनिधिहरू सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस