दाङ,  भदौ १७ । नेपाल फार्मेसी संघ दाङ शाखाले स्वास्थ्य संस्था र औषधी पसलमा अनिवार्य रूपमा फर्मासिस्ट अर्थात् औषधी विज्ञको व्यवस्था गर्न स्थानीय सरकारसँग माग गरेको छ।

संघले औषधी ऐन २०३५ अनुसार औषधी भण्डारण र बिक्रीका लागि फर्मासिस्ट वा सहायक फर्मासिस्ट आवश्यक भए पनि त्यसको कार्यान्वयन नभएको भन्दै ऐनलाई कडाइका साथ लागू गर्न आग्रह गरेको हो।

घोराही उपमहानगरपालिका अन्तर्गतका स्वास्थ्य संस्था तथा नगर क्षेत्रमा रहेका सबै औषधी पसललाई दर्ता, लाइसेन्स, दक्ष जनशक्ति र आवश्यक पूर्वाधारसहित सञ्चालनमा ल्याउनुपर्ने संघको माग छ। साथै, नक्कली, म्याद गुज्रेका वा गुणस्तरहीन औषधी बिक्री रोक्न नियमित अनुगमन गर्नुपर्ने र अवैध रूपमा सञ्चालन भइरहेका पसललाई कानूनी दायरामा ल्याउनुपर्ने सुझाव पनि संघले दिएको छ।

नेपाल फार्मेसी संघ दाङका अध्यक्ष श्यामकुमार गिरीले नगर क्षेत्रमा औषधीसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै, दीर्घकालीन योजना बनाएर औषधी व्यवसायमा देखिएका समस्या समाधान गर्न नगरपालिकालाई आग्रह गरिएको बताए।

ज्ञापनपत्र बुझ्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले नागरिकको स्वास्थ्यसँग जोडिएको गम्भीर विषय उठाइएको भन्दै कानूनी दायरामा ल्याउन आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

संघका अध्यक्ष श्यामकुमार गिरीको नेतृत्वमा गएको टोलीले नगर प्रमुख चौधरीलाई ज्ञापनपत्र बुझाएको हो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस