भरत वली
रोल्पा, भदाै १७ । नेपाल नेत्रज्योति संघको आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज सुलिचौर सर्जिकल आँखा केन्द्रको आयोजना, NABP I-CARE नर्वेको आर्थिक सहयोग र लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा रोल्पामा निशुल्क आँखा जाँच कार्यक्रम जारी छ।
भदौ ११ गतेदेखि १८ गतेसम्म जिल्लाका विभिन्न पालिकामा सञ्चालन हुने तालिका अनुसार सोमबार, भदौ १६ गते, लुङ्ग्री गाउँपालिका–६ गुम्चालमा निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ।
उक्त शिविरमा ११० जनाले आँखा जाँच गराएका थिए। जसमध्ये २४ जनामा मोतिबिन्दुका विरामी पहिचान गरिएको छ। ती विरामीहरूको शल्यक्रिया आगामी भदौ २० गते सुलिचौर सर्जिकल आँखा केन्द्रमा सशुल्क तथा निशुल्क दुवै विधिबाट हुने उपचार केन्द्रका प्रमुख केशर डाँगीले जानकारी दिनुभयो।
कार्यक्रमका संयोजकका अनुसार अत्याधुनिक Phaco प्रविधि प्रयोग गरी शल्यक्रिया गर्दा ५० प्रतिशत छुट हुनेछ भने SICS प्रविधि अर्थात् हातबाट गरिने शल्यक्रिया पूर्ण रूपमा निशुल्क हुनेछ। नाम दर्ता बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खुला रहनेछ।
रोल्पामा कुल आठवटा शिविर सञ्चालन गर्ने तालिका तय गरिएको छ। हालसम्म छ वटा शिविर सम्पन्न भइसकेका छन् भने बाँकी शिविरहरू भदौ १७ गते किलाचौर र भदौ १८ गते सुनिलस्मृति गाउँपालिका–५, काभ्रामा हुने कार्यक्रम रहेको छ।












