घाेराही, भदाै १७ । त्रिभुवननगर जेसीजले आयोजना गरेको सातदिने “तालिम म्याराथन–२०२५” आज (मंगलबार) घोराहीको मार्क इन्टरनेशनल कलेजमा सम्पन्न भएको छ। कार्यक्रमको मुख्य उद्देश्य युवालाई सक्षम नेतृत्वतर्फ उन्मुख गराउने, व्यक्तित्व निखार्ने र जेसीजको पहिचानलाई थप स्पष्ट बनाउनु रहेको थियो।
आज कार्यक्रमको दोस्रो दिन “वित्त क्षेत्रमा भावी नेतृत्व” शीर्षकमा प्रशिक्षक सिए कैलाश खत्रीको प्रशिक्षण सम्पन्न भएको छ।
कार्यक्रम त्रिभुवननगर जेसीजका अध्यक्ष टंक बहादुर रावत (अनन्त) को अध्यक्षतामा तथा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। अन्य प्रमुख अतिथिहरूमा मार्क इन्टरनेशनल कलेजका प्रमुख लालमणि बसेल, त्रिभुवननगर जेसीज तालिम प्रतिष्ठान अध्यक्ष रजिव उल्लाह खान, पूर्व अध्यक्ष ओविन्द्र बहादुर महरा र दीपक शर्मा लगायत थिए।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख चौधरीले त्रिभुवननगर जेसीजले निरन्तर युवाको नेतृत्व विकास र व्यक्तित्व निखारमा पु¥याएको योगदानको प्रशंसा गर्दै भन्नुभयो, “वित्तीय साक्षरता विना देश अघि बढ्न सक्दैन।” उहाँले विद्यार्थीहरूलाई वित्त क्षेत्रमा दक्ष बन्न र आफ्नो क्षमता विकास गर्न आह्वान गर्नुभयो।
त्यसैगरी, नगर प्रमुखले मन्तव्य राख्दै भन्नुभयो, “युवाहरूले वित्तीय ज्ञान र क्षमता हासिल गर्न सके मात्र व्यक्तिगत जीवन र समग्र समाज दुवैमा सकारात्मक योगदान दिन सक्छन्। प्रतिस्पर्धात्मक वातावरणमा वित्तीय व्यवस्थापन, लगानी र उद्यमशीलता सम्बन्धी दक्षता अत्यावश्यक छ। त्यसैले हाम्रो युवा वर्गले वित्त क्षेत्रमा आत्मनिर्भर र दक्ष नेतृत्वका रूपमा अघि बढ्नु अत्यन्त जरुरी छ।”
तालिममा १५० बढी विद्यार्थीहरूले सहभागिता जनाएका थिए। तालिमका मुख्य प्रशिक्षक सिए कैलाश खत्रीले सहभागी विद्यार्थीहरूलाई वित्तीय नेतृत्वका आधारभूत पक्षबारे विस्तृत प्रशिक्षण दिनु भएको थियो। उहाँले भावी नेतृत्वका लागि वित्तीय योजना र व्यवस्थापनमा दक्षता, पारदर्शिता र जवाफदेहीता, लगानी पहिचान र विवेकपूर्ण निर्णय, जोखिम व्यवस्थापन, डिजिटल प्रणालीमा अनुकूलन र नैतिकतासहितको नेतृत्व अपरिहार्य भएको जोड दिनुभयो। साथै, युवाहरूले आत्मनिर्भर र उत्तरदायी वित्तीय नेताका रूपमा अगाडि बढ्न निरन्तर अभ्यास र सचेत प्रयास गर्नुपर्ने कुरा पनि उहाँले उल्लेख गर्नुभयो।
कार्यक्रमको शुरुवात संयोजक विवेक शर्माको स्वागत मन्तव्यबाट भएको थियो भने सहजीकरण महासचिव कृष्णदेव थापा मगरले गर्नुभएको थियो। म्याराथन अन्तर्गत भोलि बुधबार उद्यमशीलताको सपना विषयक प्रशिक्षण भिक्टोरिया इन्टरनेशनल कलेजमा हुने बताइएको छ।












