दाङ, भदौ १८ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्काको सम्झनामा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
नेपाल तरुण दल घोराही उपमहानगरपालिका–१० को आयोजनामा हुने ‘स्वर्गीय खुमबहादुर खड्का स्मृति फुटबल प्रतियोगिता–२०८२’ आगामी भदौ २८ गतेदेखि असोज ३ गतेसम्म घोराही–१० नारायणपुरस्थित बी.पी. बाटिका खेल मैदानमा सञ्चालन हुने आयोजक समितिले जनाएको छ।
खेलकुद क्षेत्रको विकाससँगै स्वर्गीय नेता खड्काको योगदानलाई नयाँ पुस्तामा परिचित गराउँदै संगठन निर्माणमा सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको यस जिल्लास्तरीय खुला फुटबल प्रतियोगितामा विजेता टोलीले नगद ७० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
त्यसैगरी, दोस्रो हुने टोलीलाई नगद ३५ हजार, कप, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक संघर्ष वलीले जानकारी दिनुभयो। साथै उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्डर र मिडफिल्डरलाई जनही नगद २ हजार ५ सयसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
प्रतियोगितामा सहभागिताका लागि टिम दर्ता शुल्क ६ हजार तोकिएको छ भने इच्छुक टोलीले भदौ २६ गतेभित्र दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ। प्रतियोगिता फिफा र आयोजक समितिका नियमअनुसार नकआउट चरणमा सञ्चालन गरिनेछ।
                
		











