काठमाडौं, भदाे १८ । भाषा आयोगले सवारी साधनमा जडान हुने विद्युतीय संकेत (इम्बोस्ड नम्बर प्लेट) नेपाली भाषामै हुनुपर्नेमा जोड दिएको छ। आयोगले नेपालको संविधानको धारा ७ को उपधारा १ अनुसार सरकारी कामकाजको भाषा नेपाली नै हुने स्पष्ट प्रावधान रहेकाले अंग्रेजी भाषामा नम्बर प्लेट राखिने व्यवस्थाप्रति आपत्ति जनाएको हो।
आयोगले संविधानले मान्यता नदिएको भाषा वा लिपी प्रयोग नगरी, देवनागरी लिपीमा आधारित नेपाली भाषामै नम्बर प्लेट राख्नुपर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गरेको छ। साथै, यस विषयमा सर्वोच्च अदालतले दिएको फैसलाको पनि स्मरण गराएको छ।
सर्वोच्च अदालतले २०८१ साल असार ९ गते गरेको फैसलामा संविधानको धारा ७ को उपधारा ३ अनुरूप भाषासम्बन्धी अन्य विषय भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गर्नुपर्ने व्यवस्था रहेको स्पष्ट पारेको आयोगले जनाएको छ। त्यसअनुसार सबै तहका सरकारलाई संवैधानिक प्रावधानअनुसार कार्यान्वयन गर्न स्पष्ट निर्देशन रहेको पनि आयोगको भनाइ छ।
आयोगका अध्यक्ष डा. गोपाल ठाकुरका अनुसार देवनागरी लिपीमै विद्युतीय संकेत संख्या राख्नुपर्ने निर्णय आयोगले भदौ १ गते गरेको हो। उनले यसबारे नेपाल सरकारको पुनः ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो।

