भरत वली
रोल्पा (भावाङ), भदाै १८ । रेडस्टार युवा समूहले आफ्नो ६औँ वार्षिकोत्सव र १२औँ जन्मोत्सव विविध खेलकुद र सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा मनाउने भएको छ । “गाउँ विकासको आधार, हाम्रो समूह रेडस्टार” नाराका साथ हुने यो कार्यक्रम आगामी २०८२ असोज १७ गते बिहान ११ बजे बाङ्मा गावलधारा खेलमैदानमा उद्घाटन गरिने समूहले जनाएको छ ।
समूहका अध्यक्ष घनश्याम वलीका अनुसार कार्यक्रममा पुरुष तथा महिला भलिबल, आमा समूह नृत्य, सारङ्गी नाच, पैसरु नाच, मयुर नाच, लोकदोहोरी, हाजिरीजवाफ, सामूहिक नृत्य, एकल नृत्य र घैटाफोरलगायत विभिन्न प्रतियोगिता हुनेछन् ।
प्रतियोगितामा विजेता, उपविजेता र तृतीय हुने टोली तथा व्यक्तिहरूलाई नगदसहित कप, मेडल र प्रमाणपत्र वितरण गरिनेछ । पुरुष भलिबलको प्रथम पुरस्कार रु २० हजारसहित कप, मेडल र प्रमाणपत्र राखिएको छ भने अन्य विधामा पनि आकर्षक पुरस्कार तोकिएका छन् ।
समूहले खेलमा निष्पक्षता कायम गर्नका लागि स्पष्ट नियम बनाएको छ । खेलाडीहरूलाई समयमै दर्ता (२०८२/६/१६ भित्र) गर्नुपर्ने, उत्घाटन समारोहमा मार्चपाससहित जर्सीमा उपस्थित हुनुपर्ने, खेलमैदानभित्र जाँडरक्सी पूर्णरूपमा निषेध गरिने र उल्लङ्घन गर्नेमा ५ देखि १० हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रावधानसमेत राखिएको अायाेजकले जनाएकाे छ ।
स्थानीय विकासमा योगदान दिने उद्देश्यले स्थापना भएको रेडस्टार युवा समूहले हरेक वर्ष खेलकुद र सांस्कृतिक कार्यक्रममार्फत समुदायमा ऐक्यबद्धता र प्रतिभा उजागर गर्ने प्रयास गर्दै आएको छ ।

