घोराही, भदाै १९ । त्रिभुवननगर जेसीजले आयोजना गरेको सातदिने ‘तालिम म्याराथन–२०२५’ बुधबार घोराहीस्थित भिक्टोरिया इन्टरनेशनल कलेजमा सम्पन्न भयो।
कार्यक्रमको तेस्रो दिन बुधबार ‘ड्रिम टु स्टार्टअप’ शीर्षकमा त्रिभुवननगर जेसीजका पूर्वअध्यक्ष जेसी ओबिन्द्रबहादुर महराले प्रशिक्षण प्रदान गर्नुभयो।
कार्यक्रममा त्रिभुवननगर जेसीजका अध्यक्ष टंक रावत (अनन्त) को अध्यक्षता, नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यता तथा त्रिभुवननगर जेसीज तालिम प्रतिष्ठानका अध्यक्ष रजिव उल्लाह खान, पूर्वअध्यक्ष माधवप्रसाद पौडेल, भिक्टोरिया कलेजका संयोजक कुलवीर चौधरीलगायतको उपस्थिति थियो।
प्रमुख अतिथि पोख्रेलले जेसीजले युवामा नेतृत्व क्षमता, व्यक्तित्व विकास र उद्यमशीलता अभिवृद्धि गर्न खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै आजको प्रतिस्पर्धात्मक परिवेशमा युवाले केवल रोजगारी खोज्ने नभई आफैं उद्यम आरम्भ गरी अरूलाई पनि अवसर सिर्जना गर्ने मनोवृत्ति बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले त्रिभुवननगर जेसीज जस्ता संस्थाले यस्तो जागरणात्मक अभियानमार्फत युवामा आत्मविश्वास र नवीन सोच विकास गर्ने काम गरिरहेको उल्लेख गर्नुभयो।
त्यसैगरी, पूर्वअध्यक्ष तथा प्रमुख प्रशिक्षक महराले व्यवसायको सुरुवात, प्रारम्भिक पूँजी व्यवस्थापन, बजार प्रतिस्पर्धा र अवसरको सदुपयोग, असफलतापछि पुनः उठ्ने बाटो जस्ता विषयमा आफ्ना विचार राख्दै सानो पूँजी, नवीन सोच र दृढ इच्छाशक्ति नै उद्यमशीलताको आधार हुने बताउनुभयो। उहाँका अनुसार असफलता नै अनुभव र नयाँ सुरुवातको प्रेरणा हो।
कार्यक्रम संयोजक खेमराज भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको तालिमको सहजीकरण महासचिव कृष्णदेव थापाले गर्नुभएको थियो।

