लुम्बिनी प्रदेशमा गत साउन महिनामा विभिन्न प्रकारका विपद्का घटनामा परी ४३ जनाले ज्यान गुमाएका छन्। प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार सो अवधिमा १५४ जना घाइते भएका छन् भने दुई जना अझै बेपत्ता छन्।

केन्द्रका तथ्यांकअनुसार साउन महिनाभरि बाढी, डुबान, अतिवृष्टि, आगलागी, विषालु खाद्य सेवन, पहिरो, जनावरको आक्रमण र चट्याङलगायतका ३३५ घटना दर्ता भएका थिए। ती घटनाका कारण ठूलो मानवीय क्षति हुनुपरेको र करिब ५१ लाख रुपैयाँ बराबरको भौतिक क्षति पुगेको अनुमान गरिएको छ।

मृतकको विवरण अनुसार साउन महिनामा बाढीमा परेर दुई, पानीमा डुबेर २७, आगलागीमा एक, विषाक्त खाद्य सेवनबाट चार, सर्पदंशबाट आठ र अन्य घटनामा एक जनाको मृत्यु भएको हो।

प्रदेशस्तरीय विवरणअनुसार दाङमा सात, कपिलवस्तुमा नौ, रूपन्देहीमा पाँच, बाँकेमा दुई, गुल्मीमा दुई, पाल्पामा दुई, प्युठानमा चार, बर्दियामा तीन, अर्घाखाँचीमा दुई, नवलपरासी पश्चिममा दुई, रुकुमपूर्वमा एक र रोल्पामा चार जनाको ज्यान गएको केन्द्रले जनाएको छ।

यस्तै, सो अवधिमा २१ निजी घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने १२ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। एक सरकारी भवन पूर्ण क्षतिग्रस्त हुँदा दुई सरकारी भवनमा आंशिक क्षति पुगेको छ। पशु क्षतिमा ३० र गोठ क्षतिमा २० रहेको पनि केन्द्रले जानकारी दिएको छ

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस