बुटवल, भदाै १९ । निःशुल्क औषधि उपलब्ध र जनशक्तिको पर्याप्तता भए पनि रुपन्देहीमा कुष्ठरोग पूर्ण रूपमा निवारण हुन नसक्दा सरोकारवालामा चिन्ता बढेको छ।

नेपाललाई २०६६ सालमा कुष्ठरोग निवारण देश घोषणा गरिएको १६ वर्ष बितिसक्दा पनि अझै यो रोग पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। रुपन्देहीका स्वास्थ्य अधिकृतहरूले जनचेतनाको कमी र बिरामीले रोग लुकाउने प्रवृत्तिका कारण कुष्ठरोग निवारणमा चुनौती कायम रहेको बताएका छन्।

स्वास्थ्य कार्यालय रुपन्देहीका क्षयकुष्ठ अधिकृत टीकाराम अधिकारीका अनुसार २०८०/८१ को अन्त्यसम्म पनि नेपालका १८ जिल्ला कुष्ठरोगमुक्त घोषणा हुन बाँकी छन्। रुपन्देही पनि सो सूचीमा पर्दछ। सरकारबाट कुष्ठरोगीलाई निःशुल्क औषधि उपलब्ध भए पनि पूर्ण निवारण हुन नसक्नु चिन्ताको विषय बनेको अधिकारीको भनाइ छ।

तिलोत्तमा नगरपालिकाका स्वास्थ्य अधिकृत रामप्रसाद ढकाल र केशव भट्टराईले कुष्ठरोगबारे परिवार र समुदायस्तरमा रहेको भ्रम र डर हटाउन सचेतना अभिवृद्धि आवश्यक रहेको बताएका छन्। तिलोत्तमामा हाल १९ जना कुष्ठरोगी रहेको ढकालले जानकारी दिए।

स्वास्थ्य कार्यालय रुपन्देहीकी प्रमुख उमादेवी थापाका अनुसार समुदायमा पुगेर काम गर्दा पनि बिरामीहरूले रोग लुकाउने र उपचारमा ढिलाइ गर्ने प्रवृत्ति रहेको छ। बजेटको अभाव, ‘पाप गरेमा लाग्छ’ भन्ने मानसिकता, शरीरका नदेखिने भागमा रोग लाग्दा थाहा नपाई अरूमा सार्ने जस्ता कारणले कुष्ठरोग अझै फैलिरहेको थापाको भनाइ छ।

कार्यक्रममा शान्ति माविका प्रधानाध्यापक कुलप्रसाद लामिछाने, वडा नं. १० का सदस्य बालकृष्ण बस्याल, सेमरा बजार स्वास्थ्य चौकीका इञ्चार्ज कमल पाण्डेलगायतले जनस्तरमा व्यापक प्रचार–प्रसार र चेतनामूलक कार्यक्रम सञ्चालनमा जोड दिए।

स्थानीय तहका तथ्यांकअनुसार रुपन्देहीमा हाल १७० जना कुष्ठरोगी छन्। बुटवलमा २६, शुद्धोधनमा १८, तिलोत्तमा १६, रोहिणीमा १६, सिद्धार्थनगरमा १५, ओमसतियामा १५, देवदहमा १०, गैंडहवामा आठ, मायांदेवीमा आठ, मर्चवारीमा सात, सियारीमा सात, सैनामैनामा सात, कञ्चनमा छ, कोटहीमाईमा दुई र समहीमाईमा एक जना कुष्ठरोगी रहेका छन्।

स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजना र ल्याप्रोसी नेपालको सहयोगमा आयोजित कार्यक्रम सरोकारवालासँगको अभिमुखीकरणका रूपमा सम्पन्न भएको हो

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस