भरत वली

रोल्पा, भदाै १९ । नेपाल नेत्रज्योति संघको आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज सुलिचौर सर्जिकल आँखा केन्द्रको आयोजनामा र लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा रोल्पाका विभिन्न स्थानमा निःशुल्क मोतिबिन्दु छनोट तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ।

संघले जारी गरेको सूचनाअनुसार भदौ ११ देखि १८ गतेसम्म जिल्लाका विभिन्न गाउँपालिकामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिएको थियो। सो अवधिमा ७०७ जनाले आँखा जाँच गराउँदा १६४ जना मोतिबिन्दुका बिरामी छनोट भएका छन्।

भदौ ११ गते सुनछहरी गाउँपालिका–१ सेरममा ८४ जनाको आँखा जाँच गर्दा २८ जनामा मोतिबिन्दु फेला परेको थियो। भदौ १२ गते सुनछहरी गाउँपालिका–५ पोबाङमा ५० जनाको आँखा जाँच गर्दा १३ जना, भदौ १३ गते लुङ्ग्री गाउँपालिका–३ जुतुङखोलामा ८७ जनाको आँखा जाँच गर्दा १८ जना र भदौ १४ गते सुनिलस्मृति गाउँपालिका–१ घोडागाउँ–थुम्पाकीमा ८३ जनाको आँखा जाँच गर्दा १७ जनामा मोतिबिन्दु फेला परेको थियो।

त्यसैगरी, भदौ १५ गते लुङ्ग्री गाउँपालिका–७ हार्जङ–छहरेखुङमा १२५ जनाको आँखा जाँच गर्दा २६ जना, भदौ १६ गते लुङ्ग्री गाउँपालिका–६ गुम्चालमा ११० जनाको आँखा जाँच गर्दा २४ जना, भदौ १७ गते लुङ्ग्री गाउँपालिका–५ किलाचौरमा ७२ जनाको आँखा जाँच गर्दा १७ जना र भदौ १८ गते सुनिलस्मृति गाउँपालिका–५ गजुल (काभ्रा) मा ९६ जनाको आँखा जाँच गर्दा २१ जनामा मोतिबिन्दु भेटिएको जनाइएको छ।

शिविरमा आँखासम्बन्धी समस्या भएका बिरामीलाई निःशुल्क परीक्षण र औषधि वितरण गरिएको थियो। यो शिविर विशेषगरी ४० वर्षभन्दा माथिका उमेर समूहका बिरामीका लागि उपयोगी हुने बताइएको छ।

छनोट गरिएका बिरामीको शल्यक्रिया आगामी भदौ २० र २१ गते सुलिचौर सर्जिकल आँखा केन्द्रमा प्राध्यापकस्तरका नेत्ररोग विशेषज्ञद्वारा गरिने छ।

संघका अनुसार अत्याधुनिक ‘फ्याकोज’ (Phaco) प्रविधिबाट शल्यक्रिया गराएमा ५० प्रतिशत सहुलियत दरमा हुने र ‘एसआइसीएस’ (SICS) अर्थात् हातबाट हुने शल्यक्रिया भने पूर्ण निःशुल्क उपलब्ध गराइनेछ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस