तुलसीपुर, भदौ १९ । दाङको तुलसीपुरमा दिउँसै दुई जना युवकमाथि खुकुरी प्रहार भएको छ। घटनामा तुलसीपुर–५ का २० वर्षीय आयुष विक र सोही उमेरका विप्लभ योगी घाइते भएका छन्।
प्रहरीका अनुसार खुकुरी प्रहारबाट आयुषको टाउको र छातीमा गम्भीर चोट लागेको छ भने विप्लभको हातमा चोट लागेको छ। घाइतेमध्ये आयुषको अवस्था गम्भीर छ।
सामान्य घाइते विप्लभ योगीका अनुसार आज बिहान करिब १०:४५ बजे तुलसीपुर–६ स्याउली बजारस्थित एक नास्ता पसलमा बसिरहेका बेला ६/७ जनाको समूहमा आएका युवाहरूले अचानक धारिलो हतियार (खुकुरी) प्रहार गरेका थिए। “हामी नास्ता खाएर होटलबाट बाहिर निस्कँदै थियौँ। हाम्रो नजिकमा अर्को एक जना पनि थिए, जससँग पहिले उनीहरूको विवाद भएको रहेछ,” विप्लभले भने। “त्यसपछि उनले ‘केटाहरू लिएर आउँछु’ भनेर धम्की दिएर मोटरसाइकलमा हतियार लुकाएर आएका रहेछन्। हान्न खोजेको खुकुरी हामीलाई लाग्यो।”
विप्लभका भनाइअनुसार आज बिहान राप्ती–बबई क्याम्पस नजिकै गेम लेख्ने क्रममा विवाद भएको थियो र आफूहरू असम्बन्धित हुँदाहुँदै खुकुरी प्रहारमा परेका थिए।
घाइते दुवै जनालाई राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि बाँके, नेपालगञ्ज रिफर गरिएको छ।
घटनामा ६/७ जना संलग्न रहेको र उनीहरू खुकुरीसहित फरार भएको बताइएको छ। घटनाबारे थप जानकारी आउन बाँकी रहेको र संलग्नहरूको खोजी तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












