काठमाडौँ, भदाै १९ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मल अभावले किसान अत्यन्तै पीडित भएको भन्दै नेपालमै अर्गानिक मल उत्पादन गर्नुपर्नेमा जोड दिएका छन्।
बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सभापति देउवाले रासायनिक मल अत्यन्तै महँगो हुने तथा भारतले समेत बाहिरबाट आयात गर्नुपर्ने भएको कारण पर्याप्त मल आपूर्ति गर्न नसकिएको बताए।
उनले नेपाल कृषि प्रधान देश भएको उल्लेख गर्दै कृषि उपजमा आत्मनिर्भर हुने गरी अर्गानिक खेतीतर्फ लाग्न सबैलाई आग्रह गरे।
देउवाले भने, ‘किसान दाजुभाइहरू मल नपाएर दुखित छन्। हामीले मलको व्यवस्था गर्न सकेका छैनौँ। यसको समाधानका लागि नेपालमै अर्गानिक मल उत्पादन गर्नुपर्ने आवश्यकता छ। हामी सबैलाई फाइदा हुन्छ र आत्मनिर्भर हुनसक्छौँ।’
उनले जे कुरामा पनि विदेशकै भर पर्दा भविष्यमा समस्या आउनसक्ने उल्लेख गर्दै कृषि उत्पादन बढाई आत्मनिर्भरताको बाटोतर्फ अघि बढ्न जरुरी रहेको बताए।

