लमही, भदाै २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख शम्भुप्रसाद रेग्मीले विधि र नियमको पालनाले मात्र भ्रष्टाचार नियन्त्रण सम्भव हुने बताएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले बिहीबार लमहीमा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनसम्बन्धी पालिकास्तरीय अन्तर्क्रिया कार्यक्रम’मा बोल्दै उनले नियमको पालना नगर्दा समस्या देखिने गरेको बताए। “सबैले विधि र नियमको पालना गर्ने हो भने भ्रष्टाचार रोक्न सकिन्छ, तर स्थानीय सरकार सञ्चालनका क्रममा यसतर्फ खासै ध्यान नदिइएको पाइन्छ,” उनले भने, “सबै विधिबाट चल्न सकियो भने सुशासन कायम गर्न सजिलो हुन्छ, यसतर्फ सबै गम्भीर हुनुपर्छ।”

उनले नियम मिचेर हुने कार्यले सुशासन र पारदर्शिता कमजोर बनाउने उल्लेख गरे। सो अवसरमा प्रमुख रेग्मीले भ्रष्टाचारका कारण, सजाय तथा नियन्त्रणका उपायबारे जानकारी दिएका थिए। प्राकृतिक स्रोतसाधनको प्रयोग, सामग्री खरिद र निर्माण कार्यमा बढी भ्रष्टाचार हुने गरेको उल्लेख गर्दै उनले लमही नगरपालिकाबाट मात्र १८ वटा उजुरी परेको जानकारी पनि दिए।

कार्यक्रमका प्रमुख अतिथि तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले पालिकाका विभिन्न काममा अख्तियारमा मुद्दा पर्ने भएकाले काम गर्न कठिनाइ हुने बताएका थिए। उनले “राम्रो सोच बनाएर काम गरे भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ” भन्ने धारणा राखे।

लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले भ्रष्टाचारको जालो जताततै फैलिएको भन्दै यसको अन्त्यका लागि सबैको संयुक्त प्रयास आवश्यक रहेको बताइन्। “एक्लो प्रयासले सुशासन ल्याउन गाह्रो हुन्छ, असल मनसायसहित सबैले काम गरे भ्रष्टाचार नियन्त्रण सहज हुन्छ,” उनले भनिन्।

त्यस्तै, नगरपालिकाका प्रशासकीय अधिकृत प्रकाश देवकोटाले शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा हुने भ्रष्टाचार न्यूनीकरण गरी सुशासन कायम गर्न स्थानीय सरकार पनि सक्रिय रहेको उल्लेख गरे। “सुशासन हाम्रो चाहना हो, यसका लागि सबैको साथ–सहयोग आवश्यक छ,” उनले भने।

कार्यक्रममा वडा नं. ५ का अध्यक्ष ओमप्रसाद सुवेदीले पालिकाले समय–समयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव राखे। सहभागीहरूको जिज्ञासामा अख्तियार नेपालगञ्ज कार्यालय प्रमुख रेग्मीले प्रत्यक्ष जवाफ दिएका थिए।

उक्त कार्यक्रममा लमही नगरपालिकाअन्तर्गतका टोल विकास संस्था, शिक्षक, वडा प्रतिनिधि, उद्योग वाणिज्य संघ र सहकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो। कार्यक्रमको सञ्चालन आयोगका सूचना अधिकारी कुशल न्यौपानेले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस