अहिले नेपाल सरकारले सूचीकृत नहुने सामाजिक सञ्जालहरूलाई निष्क्रिय बनाउने नीति कार्यान्वयनमा लगेकाे छ । अब ती सामाजिक सञ्जालहरू सूचीकरण नभई चल्ने छैनन् । सामाजिक सञ्जालहरूले देशको नीति अनुसार सूचीकृत प्रक्रियामा नगइकन अगाडि बढ्न उचित छैन । कम्पनी सूचीकरणसँग कानूनी मुद्दा, विश्वसनीयताका मुद्दा लगायत धेरै कुराहरू जाेडिएका हुन्छन् ।
अहिले जति पनि साइबर अपराधका कुराहरू आइरहेको छ, त्योसँग पनि प्रत्यक्ष रूपमा जोडिने कुरा हो । चलाउनका लागि जुन नीति नियम छ, त्यही नीति नियम अनुसार चलाउँदा ठीक हुन्छ । नत्र भने अहिले भइरहेकाे साइबर अपराधका घटना बढेर नियन्त्रण गर्न अझ गाह्रो स्थिति आउन सक्छ ।
धेरै मानिसहरूले सामाजिक सञ्जालहरू चलाउँदा, इन्टरनेटमा केही कुराहरू खोज्दा, एप्सहरू डाउनलोड गर्दा ध्यान दिँदैनन् । त्यहाँ ‘टर्म्स अफ कन्डिसन’ भनेको हुन्छ । त्यो कसैले पनि पढेर या यसबाट हानी हुन सक्छ भनेर पढेकै हुँदैन । कति एप्सहरूमा मलाई यो–यो पहुँच देऊ भनेर भनिरहेको हुन्छ । फोटो, सम्पर्कको पहुँच देऊ भनेर भनिरहेको हुन्छ । मानिसहरूले सबै कुराकाे पहुँच दिनुपर्ने हो कि होइन भन्ने बुझ्नुपर्छ । कतिपय एप्सहरू यस्तो हुन्छ जसले सबै विवरणहरू माग्छ । प्रयाेगकर्ताहरू आफैँ सचेत हुनु जरुरी छ । सूचीकृत भएकै एप्स, सफ्टवेयरहरू चलाउँदा पनि उसले मागेका कुराहरू दिन जरुरी छ त भनेर साेच्न जरुरी छ ।
अहिले सरकारले लिएको नीति सही हो । अहिले जति पनि सामाजिक सञ्जालहरू छन् उनीहरूले नेपाल बाहेकका अरू देशमा सञ्चालन हुँदा सूचीकृत नै गरेका हुन्छन् । उनीहरूलाई नेपालमा कानून नलाग्ने त होइन ।
फेसबुकलगायतका सामाजिक सञ्जाल बन्द भएपछि टाढा रहेका परिवारका सदस्य, आफन्त र साथीभाइसँग सहज कुराकानी कसरी गर्ने भन्ने धेरैलाई चिन्ता छ । अझ गाउँघरमा बस्ने वृद्धवृद्धालाई विदेशमा रहेका छोराछोरी र आफन्तसँग कुराकानी गर्न फेसबुक, ह्वाट्सएप सजिलो माध्यम थियो । अब सूचीकृत नहुँदासम्म फेसबुक, ह्वाट्सएप चल्दैनन् ।
यसअघि सूचीकृत भइसकेका सामाजिक सञ्जालहरू टिकटक, भाइबर, निम्बज, वीटक र पोपोलाइभ भने निर्बाध चलिरहेका छन् । सूचीकृत भएकामध्ये टिकटक सबैभन्दा धेरै लोकप्रिय छ । यसबाट लेखेर दोहोरो सन्देश पठाउन सकिन्छ । यस्तै भाइबरबाट सन्देश लेखेर पठाउन तथा अडियो र भिडियो कुराकानी गर्न सकिन्छ । यो ह्वाट्सएपको विकल्प पनि हो । पहिले कोरोना सङ्क्रमणको बेला पनि धेरै प्रयोग भएको सामाजिक सञ्जाल भाइबर नै हो । यस्तै निम्बजबाट पनि सन्देश लेखेर पठाउन, अडियो कल गर्न सकिन्छ । फाइलहरू आदानप्रदान गर्न पनि सकिन्छ । यस्तै पोपोलाइभबाट भिडियो कल गर्न, नयाँ साथीहरू बनाउन र आफ्नो प्रतिभा देखाउन सकिन्छ । नेपालमै बनेको अर्को सामाजिक सञ्जल वीटक पनि भिडियो–साझेदारी गर्ने एप हो । यसमा आफ्नो कला, प्रतिभा, विचार र सिर्जनालाई छोटकरी भिडियोमार्फत साझा गर्न सकिन्छ ।
(त्रिभुवन विश्वविद्यालय केन्द्रीय कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विभागका प्रमुख सर्विन सायमीसँग उज्यालाेकाे कुराकानीमा आधारित ।)

