देउखुरी, भदाै २१ । लुम्बिनी प्रदेश सरकारले नसर्ने तथा दीर्घ रोगको उपचारका लागि गत आर्थिक वर्ष २०८१/८२ मा मात्र १९ करोड रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ।

क्यान्सर, मुटुको भल्व फेर्ने र मिर्गौला प्रत्यारोपणका लागि प्रदेश सरकारले प्रति बिरामी दुई लाख रुपैयाँ सहयोग गर्दै आएको छ। स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगरका अनुसार नसर्ने तथा दीर्घ रोगीको संख्या निरन्तर बढ्दै गएको छ। आर्थिक वर्ष २०७९/८० मा २२४ जनालाई नौ करोड १८ लाख रुपैयाँ उपचार सहयोग गरिएकोमा २०८१/८२ मा ३,८५१ जनालाई सहयोग गर्दा १९ करोड रुपैयाँ खर्च भएको छ।

प्रदेश निजामती सेवा दिवस मूल समारोह समिति–२०८२ ले प्रदेश निजामती सेवा दिवसको अवसरमा शुक्रबार राप्ती उपत्यका (देउखुरी) मा आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री सारुले क्यान्सर, मुटु तथा मिर्गौला रोगीको संख्या अत्यधिक बढ्दै गएको उल्लेख गरे।

मिर्गौला प्रत्यारोपण, मुटुको भल्व फेर्ने र क्यान्सर उपचारका लागि दुई लाख रुपैयाँ उपचार सहयोग गर्दै आएको जानकारी दिँदै मन्त्री सारुले हाल प्रदेशमा उपचार सहयोगका कारण ठूलो आर्थिक भार परेको बताउँदै सबैलाई आफ्नो स्वास्थ्यप्रति सचेत रहन आग्रह गरे।

प्रमुख सचिव बाबुराम अधिकारीको अध्यक्षता तथा स्वास्थ्यमन्त्री सारुको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रदेशका सचिव कविन्द्र नेपाल, लिलाधर सुवेदी, मोतीराम सापकोटा, स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका सचिव नारद गौतमलगायतको उपस्थिति थियो।

कार्यक्रममा प्रदेश सरकारका सचिव, मुख्यमन्त्री सचिवालय, विभिन्न मन्त्रालयका कर्मचारी तथा सुरक्षाकर्मीहरूले रक्तदान गरेका थिए। नेपाल रेडक्रस सोसाइटी दाङको प्राविधिक सहयोग र स्वास्थ्य मन्त्रालयको समन्वयमा रक्तदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस