तुलसीपुरल भदाै २१ । राप्ती प्रादेशिक अस्पतालको प्राङ्गणमा रहेको कालिकादेवी रक्त सञ्चार केन्द्रमा रगत वर्गीकरण गर्ने (कम्पोनेन्ट) मेसिन नहुँदा बिरामीलाई समस्या भइरहेको छ। वि.सं. २०७४ देखि सञ्चालनमा आएको केन्द्रमा हालसम्म पनि रगत वर्गीकरण गर्ने मेसिन जडान गरिएको छैन।

रक्त सञ्चार केन्द्रका इञ्चार्ज नरेश चौधरीका अनुसार हाल केन्द्रमा रगत राख्ने फ्रिज मात्र छ भने रगत छुट्याउने कम्पोनेन्ट मेसिन छैन। “कसैलाई सेतो रक्तकोष चाहियो भने घोराही वा नेपालगञ्जबाट ल्याउनुपर्ने हुन्छ,” उनले बताए। अहिले पनि महिनामा २० जनाभन्दा बढीलाई सेतो रक्तकोष आवश्यक पर्छ तर मेसिन नहुँदा बिरामीलाई ‘होलब्लड’ नै दिनुपर्ने अवस्था छ।

मेसिन भएमा रातो रक्तकोष, सेतो रक्तकोष र प्लेटलेट्स छुट्याएर बिरामीलाई आवश्यकतानुसार दिन सकिने चौधरीको भनाइ छ। माग भइरहे पनि मेसिन नहुँदा समस्या भइरहेकाे उनले बताए।

हाल कम्पोनेन्ट मेसिन घोराहीमा मात्र छ। रेडक्रसले घोराहीमा सञ्चालन गरेको रक्त सञ्चार केन्द्रमा प्रदेश सरकार र घोराही उपमहानगरपालिकाको सहयोगमा ३५ लाखमा उक्त मेसिन जडान गरिएको हो। हाल जिल्लामा सोही मेसिनबाटै सेवा दिइँदै आएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका अधिकृत विश्राम अधिकारीले बताए।

उनले भने, “अहिले घोराहीमा मेसिन छ तर त्यो पनि बिग्रियो भने बुटवल वा नेपालगञ्ज जानुपर्ने हुन्छ। कम्पोनेन्ट मेसिन नहुँदा धेरै बिरामीलाई जिल्लाबाहिर रेफर गर्नुपर्ने अवस्था छ।”

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस