काठमाडौँ,भदौ २१ । देशभरका ६१ वटा पालिकाले चालु आर्थिक वर्षको बजेट अझैसम्म सङ्घीय मन्त्रालयको पोर्टलमा प्रविष्ट गरेका छैनन् । पालिकाहरूले असार १० भित्र आफ्ना सभामा बजेट पेस गरी असार मसान्तसम्म पारित गरिसक्नुपर्ने व्यवस्था छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सात सय ५३ मध्ये छ सय ९२ पालिकाले बजेट सार्वजनिक गरी मन्त्रालयको पोर्टलमा प्रविष्ट गरिसकेका र कार्यान्वयन पनि थालेका छन् । तर कोशी प्रदेशका पाँच, मधेस प्रदेशका ४० र बाग्मती प्रदेशका पाँच पालिकाले भने अझैसम्म मन्त्रालयको बजेट पोर्टलमा विवरण राखेका छैनन् ।

गण्डकी प्रदेशका सबै पालिकाले बजेट प्रस्तुत गरिसकेका छन् भने लुम्बिनी प्रदेशका सात, कर्णाली प्रदेशका तीन र सुदूरपश्चिम प्रदेशको एक पालिकाले बजेट ल्याइसकेका छैनन् । बजेट पेस गरेका पालिकाले पनि मन्त्रालयको पोर्टलमा विवरण प्रविष्ट गर्नुपर्ने व्यवस्था छ । यसअनुसार केही पालिकाले बजेट प्रस्तुत गरिसके पनि मन्त्रालयको विवरणमा अद्यावधिक नभएको देखिन्छ ।

राजनीतिक विवाद, योजना बाँडफाँडमा समस्या तथा जनप्रतिनिधिबीच समन्वयको अभावका कारण कतिपय पालिकाले तोकिएको समयमा बजेट प्रस्तुत गर्न नसकेको मन्त्रालयले जनाएको छ । संवैधानिक प्रावधानअनुसार संघीय सरकारले हरेक वर्ष जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट पेस गर्छ भने प्रदेश सरकारले असार १ र पालिकाहरूले असार १० भित्र बजेट प्रस्तुत गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस