घोराही, भदौ २२ । दाङमा रहेका दुई डिभिजन वन कार्यालयमा साढे दुई करोड रुपैयाँभन्दा बढी बेरुजु देखिएको छ। प्रदेश स्थापना भएपछिको तथ्यांकअनुसार डिभिजन वन कार्यालय देउखुरी र डिभिजन वन कार्यालय घोराहीमा जम्मा दुई करोड ६० लाख ३० हजार तीन सय ६५ रुपैयाँ बेरुजु रहेको छ।
डिभिजन वन कार्यालय देउखुरीमा प्रदेश स्थापनापछि २०८०÷०८१ सम्म असुलउपर गर्नुपर्ने १३ लाख ६९ हजार चार सय ३१ रुपैयाँ, नियमित गर्नुपर्ने एक करोड नौ लाख ३५ हजार तीन सय एक रुपैयाँ र पेश्की बेरुजु २० लाख ४३ हजार पाँच सय १९ रुपैयाँ गरी कुल एक करोड ४३ लाख ४८ हजार दुई सय ५१ रुपैयाँ बेरुजु देखिएको हो।
२०८१÷०८२ सम्म असुलउपर गर्नुपर्ने दुई लाख ५५ हजार चार सय ९१ रुपैयाँ र पेश्की सात लाख ६८ हजार पाँच सय १९ रुपैयाँ गरी जम्मा १० लाख २४ हजार १० रुपैयाँ फछ्र्यौट भएको छ।
त्यस्तै, डिभिजन वन कार्यालय घोराहीको प्रदेश स्थापना हुनुअघि तत्कालीन जिल्ला वन कार्यालयको नाममा २०८०÷०८१ को अन्त्यसम्म असुलउपर गर्नुपर्ने २३ लाख ६९ हजार आठ सय ९९ रुपैयाँ ६७ पैसा, नियमित गर्नुपर्ने ४३ लाख नौ हजार दुई सय ६२ रुपैयाँ र पेश्की बेरुजु ६५ हजार गरी कुल ६७ लाख ४४ हजार एक सय ६१ रुपैयाँ ६७ पैसा बेरुजु रहेको छ।
प्रदेश स्थापनापछि २०८०÷०८१ सम्म असुलउपर गर्नुपर्ने तीन लाख ७८ हजार तीन सय ९० रुपैयाँ, नियमित गर्नुपर्ने ३७ लाख ६२ हजार तीन सय २९ र पेश्की बेरुजु एक करोड १६ लाख ८२ हजार एक सय १६ रुपैयाँ गरी कुल एक करोड ६३ लाख ८९ हजार सात सय ३४ रुपैयाँ बेरुजु देखिएको छ।
डिभिजन वन कार्यालय देउखुरीका लेखा अधिकृत खिम सुवेदीका अनुसार समग्रमा बेरुजु धेरै देखिए पनि असुलउपर गर्ने र प्रमाण नपुगेका विषयलाई मिलाएर लगत घटाउन सकिनेछ। तर, नियमित गर्नुपर्ने बेरुजु भने थपिँदै गएको उनको भनाइ छ। काम सम्पन्न भई साना प्रक्रिया पूरा नगरिँदा नियमित गर्ने बेरुजु देखिने गरेको र मन्त्रालयमा फाइल पेश गरे मनासिव देखिए लगत कट्टा हुने सुवेदीले बताए। उनका अनुसार कार्यालय प्रमुख सरुवा हुँदा एउटाले गरेको कामलाई अर्कोले निरन्तरता दिन नसक्दा नियमिततर्फको बेरुजु बढ्दै गएको हो।
बजेटको खर्च पनि कम
जिल्लाका दुई डिभिजन वन कार्यालयमार्फत विनियोजित बजेटको खर्च पनि कम देखिएको छ।
डिभिजन वन कार्यालय देउखुरीमा २०८१÷०८२ मा विनियोजित नौ करोड ३६ लाख ९३ हजार बजेटमध्ये दुई करोड ६० लाख आठ हजार छ सय रुपैयाँ फ्रिज भएको छ। सात करोड ३३ लाख ७४ हजार दुई सय रुपैयाँ मात्र खर्च भएको छ। कुल बजेटको चालु र पूँजीगततर्फ २१ दशमलव ७ प्रतिशत बजेट फ्रिज भएको हो। पूँजीगततर्फ ३० दशमलव ३ र चालुतर्फ ११ दशमलव २ प्रतिशत बजेट फ्रिज भएको छ।
तीन करोड १८ लाख ६२ हजार पूँजीगत बजेटमध्ये ९९ लाख ४२ हजार छ सय रुपैयाँ र छ करोड १८ लाख २१ हजार चालु बजेटमध्ये एक करोड छ लाख ६६ हजार रुपैयाँ फ्रिज भएको छ।
डिभिजन वन कार्यालय घोराहीमा २०८१÷०८२ मा विनियोजित १० करोड २९ लाख ७१ हजार बजेटमध्ये दुई करोड २४ लाख २६ हजार रुपैयाँ फ्रिज भएको छ। आठ करोड पाँच लाख ४५ हजार रुपैयाँ मात्र खर्च भएको छ। पूँजीगततर्फ ७३ दशमलव १४ र चालुतर्फ ८५ दशमलव ८४ प्रतिशत बजेट खर्च भएको छ।
आठ करोड १० लाख ८८ हजार चालु बजेटमध्ये छ करोड ४५ लाख ४० हजार खर्च भएको छ भने दुई करोड १८ लाख ८३ हजार पूँजीगत बजेटमध्ये एक करोड ६० लाख ४५ हजार मात्र खर्च भएको छ।

