घोराही, भदाै २२ । अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नेतृत्व चयनका लागि असोज ३ गते निर्वाचन हुने भएको छ। शनिबार सम्पन्न १६ औं साधारणसभा र ९ औं अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न नसकिएकोले निर्वाचनको निर्णय गरिएको हो।
निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार, भदौ २४ गते बिहान ११ बजे मतदाता नामावली प्रकाशन हुने छ भने सोही दिन साँझ ५ बजेसम्म नामावलीमा दाबीविरोध गर्न सकिनेछ। भदौ २५ गते बिहान ११ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।
त्यस्तै, भदौ २७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता हुने छ। साँझ ५ बजे उम्मेदवारको नामावली प्रकाशित गरिने छ। भदौ २८ गते दिउँसो १२ बजेसम्म दाबीविरोध, १ बजे संशोधित नामावली प्रकाशन, ३ बजेसम्म मनोनयन फिर्ता र ५ बजे अन्तिम नामावली प्रकाशन गरिने तालिका छ।
भदौ २९ गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई चुनाव चिन्ह वितरण गरिनेछ। निर्वाचन असोज ३ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म संस्थाको कार्यालयसँगै रहेको बौद्ध गुम्बा मन्दिर परिसरमा सञ्चालन हुनेछ। मतगणना तुलसीपुर–८, दोघरेस्थित उद्योग वाणिज्य संघको सभाहलमा हुने तय भएको छ।
निर्वाचनमा सहभागी हुनका लागि अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको मतदाता परिचय पत्रसहित नेपाल सरकारद्वारा जारी कुनै एक फोटोयुक्त परिचय पत्र (जस्तैः नागरिकता, मतदाता परिचय पत्र, ड्राइभिङ लाइसेन्स, पासपोर्ट वा जग्गाधनी पुर्जा) अनिवार्य रूपमा लिएर आउनुपर्ने संस्थाले जनाएको छ।
निर्वाचनका प्रारम्भिक चरणका कार्यक्रमहरू संस्थाको कार्यालयमै सञ्चालन हुने जानकारी संस्थाका कार्यालय प्रमुख सुशील काफ्लेले दिएका छन्।













