घाेराही, भदाै २३ । सरकारले सामाजिक सञ्जालहरू निष्क्रिय पार्ने निर्णय गरेपछि नयाँ पुस्ताका युवाहरूले दाङको घोराही बजारका विभिन्न स्थानमा आज बिहानैदेखि र्याली र प्रदर्शन गरेका छन्। प्लेकार्ड र नाराबाजी सहितको घाेराही बजारका विभिन्न ठाउहरूमा र्याली प्रदर्शन तुलसीपुरचोक बृहत प्रदर्शन भएको थियो। सहभागीमध्ये धेरैजना विद्यालय तथा कलेजको पोशाकमै प्रदर्शनमा उत्रिएका थिए।
सन् १९९७ देखि २०१२ बीच जन्मिएका २८ वर्षमुनिका ‘जेनजी’ पुस्ताका युवाहरू स्वतःस्फूर्त रूपमा प्रदर्शनमा सहभागी भएको जनाइएको छ। जिल्ला प्रशासन कार्यालय दाङले उनीहरूलाई निषेधित क्षेत्रमा प्रवेश नगर्ने शर्तमा प्रदर्शनको अनुमति दिएको छ।
प्रदर्शनमा विभिन्न व्यक्ति तथा समूहको समर्थन बढ्दै गएपछि ‘घुसपैठ’ हुन सक्ने सम्भावनामा प्रशासन सतर्क बनेको छ। सुरक्षा सुदृढ पार्दै प्रशासनले आयोजकहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ भने प्रहरीले कानुनविपरीतका क्रियाकलाप रोक्न जनशक्ति परिचालन गरेको छ।
सामाजिक सञ्जाल निष्क्रिय बनाउने सरकारी निर्णयले युवाहरूमा आक्रोश बढेको छ। उनीहरूले भ्रष्टाचार अन्त्य र पारदर्शिताका मागलाई मुख्य नारा बनाएका छन्। त्यस्तै, ‘नेपो बेबी’ ट्रेन्डमार्फत् उच्च पदस्थ व्यक्तिका सन्तानले विशेष सुविधा र अवसर लिने प्रवृत्तिको विरोध पनि सामाजिक सञ्जालमै उछालिएको छ।

