दाङ, भदाै २३ । सल्यानमा एक पत्रकारमाथि आक्रमण भएको छ। शारदा नगरपालिका–१ श्रीनगरस्थित करुवा रेस्टुरेन्टमा खाना खाइरहेका पत्रकार नोखिराम थापामाथि शारदा नगरपालिका–६ का वडाध्यक्ष भिकराज बुढाथोकी, प्रमोद भण्डारी, दिपेन्द्र विष्टसहित पाँच–छ जनाको समूहले कुटपिट गरेको हो। कुटपिटबाट थापाको टाउको र आँखामा चोट लागेको छ। प्रमोद भण्डारी शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीका सहोदर भाइ हुन्।
थापाले केही दिनअघि श्रीनगर बसपार्क हस्तान्तरणअघि नै चिरा परेकोबारे समाचार प्रकाशित गरेका थिए। बसपार्क निर्माण ठेकेदारसँग प्रमोद र वडाध्यक्ष बुढाथोकीको निकट सम्बन्ध रहेको स्रोतको दाबी छ। पत्रकार थापा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश परिषद् सदस्य र प्रेस चौतारी कर्णाली प्रदेश कमिटी सदस्य समेत हुन्। उनले घटनामा संलग्न वडाध्यक्ष बुढाथोकी र प्रमोद भण्डारीलगायतका विरुद्ध प्रहरीमा निवेदन दिएका छन्।
उल्टै पत्रकारलाई पक्राउ
आरोपित समूहले थापालाई कुटपिट गरेपछि उल्टै प्रहरीलाई गाली गरेको भन्दै नाटकीय ढङ्गले उनलाई पक्राउ गराएको आरोप लगाइएको छ। ‘दिउँसैदेखि वडाध्यक्षसहितको समूहले पत्रकार थापाको पछ्याइरहेको रहेछ। करुवा रेस्टुरेन्टमा खाना खाइरहेको बेला प्रमोदले ढोका खोल्न पठाएर अध्यक्ष र प्रमोद भित्र पसे, केही समयपछि दिपेन्द्र विष्टसहितको समूह भित्र पस्नेबित्तिकै आक्रमण सुरु भयो,’ नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतले बताए।
उनका अनुसार प्रहरी नियन्त्रणमा रहेका पीडित पत्रकारलाई महासंघको पहलमा जमानीमा छोडाएर उपचार गराइएको हो। अपराधबाट जोगिन नाटकीय शैलीमा कुटपिटपछि उल्टै पीडितलाई नै पक्राउ गर्नु सल्यानमा नौलो घटना भएको महासंघले जनाएको छ।
‘समाचार लेखेकै कारण मेयरका भाइ र वडाध्यक्षबाट पत्रकार कुटिनु दुःखद छ। राजनीतिक पहुँचको आधारमा छुट दिन मिल्दैन, कानूनबमोजिम कारबाही हुनुपर्छ,’ अध्यक्ष रावतले भने। घटनाबारे बुझ्न शारदा नगरपालिका–६ का वडाध्यक्ष भिकराज बुढाथोकीलाई सम्पर्क गर्दा फोन उठेन।












