काठमाडौं, भदौ २३ । सामाजिक सञ्जाल रोक्ने सरकारी निर्णय र भ्रष्टाचारविरुद्ध माइतीघर मण्डलामा भेला भएका जेनजी पुस्ताका युवाहरूको सुविधाका लागि काठमाडौं महानगरपालिकाले निःशुल्क प्रयोग गर्न मिल्ने घुम्ती शौचालय राखिदिएको छ।

भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शनरत युवाहरू नाराबाजीसहित सडकमा उत्रिएका छन्। राष्ट्रिय झण्डा बोकेर राष्ट्रभक्ति गीत गाउने, ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिंडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, ‘स्टप करप्सन’ जस्ता नारा लेखिएका प्लेकार्डसहितको प्रदर्शन जारी छ। सहभागीमध्ये कतिपय विद्यालय–कलेजको पोशाकमै उपस्थित छन्।

प्रदर्शनलाई काठमाडौं महानगरका मेयर बालेन शाहले पनि समर्थन जनाएका छन्। सामाजिक सञ्जालमार्फत आह्वान गरी आयोजित प्रदर्शनमा राजनीतिक दलका नेता तथा कार्यकर्तालाई सहभागी नगराउने जेनजी समूहले स्पष्ट पारेका छन्।

उनीहरूले सार्वजनिक सम्पत्तिमा क्षति नपुग्ने, आगजनी–तोडफोड नगर्ने, सभ्य र जिम्मेवार रहँदै नागरिक अधिकार र स्वतन्त्रताको पक्षमा शान्तिपूर्ण प्रदर्शन गर्ने प्रतिबद्धता जनाएका छन्। यद्यपि घुसपैठको सम्भावना देखिएकाले सुरक्षाकर्मीको तैनाथी बढाइएको छ।

जेनजी समूहले काठमाडौं उपत्यकाबाहेक रुपन्देही, दाङलगायत जिल्लामा पनि यस्तै प्रदर्शन गरिरहेको जनाएको छ

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस