तस्विरः खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर

घोराही, भदाै २३ । राप्ती गाउँपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्ग छेउको न्यू लुम्बिनी होटलमा करिब पाँच हजार रुपैयाँ मूल्य बराबरको गन्हाउने मासु फेला परेको छ। करिब पाँच किलो मासु फ्रिजमा अस्तव्यस्त रूपमा भण्डारण गरिएको मात्र नभई सरसफाइ नहुनुका साथै झ्याल–ढोकामा जालीसमेत नलगाइएको र भुइँ–भित्ताको अवस्था नाजुक रहेको अनुगमनमा देखिएको छ।

गएको मंगलबार राप्ती गाउँपालिका–३ को राजमार्ग छेउको एक होटलमा तीन सय रुपैयाँ बराबरको म्याद नाघेको चिसो पेय पदार्थ समेत भेटिएको थियो। त्यहाँ पनि झ्याल–ढोकामा जाली नलगाइएको, मसला दानी फोहोर, दैनिक भान्सा सफा नगरेकोजस्ता कमजोरी फेला परेका छन्। सोही क्षेत्रमा रहेको जय दुर्गा देवी होटलमा बिग्रिएको साग र राजमा समेत भेटिएको छ। बिहान पकाएको साग र राजमा रातिसम्मै यात्रुलाई खुवाउने र सरसफाइको अवस्था पनि दयनीय रहेको पाइएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुरले रातिको समयमा गरेको अनुगमनमा सडेको खानेकुरा नष्ट गरिएको जानकारी दिएको छ। पछिल्ला दिनमा राजमार्ग छेउँका होटल मात्र होइन, चटपटे बेच्ने ठेलामा समेत कैफियत देखिएको छ। कार्यालय प्रमुख पदम बरालका अनुसार ठेलामा सेतो केराउलाई रंग लगाएर हरियो मटर बनाई बेच्ने जस्ता अनियमितता पनि फेला परेका छन्।

‘भालुबाङ क्षेत्रमा राजमार्ग छेउँका होटल र पसलहरूको अनुगमन गर्दा गन्हाउने मासु, म्याद नाघेका सामग्री, बिहान पकाएको साग–राजमा रातिसम्म बेच्ने जस्ता समस्या देखिएका छन्,’ बरालले बताए। ‘धेरै ठेलाबाट मटर नष्ट गरेका छौं। कागजमा चटपटे बेच्न नपाइने व्यवस्था गर्न खोज्दा पनि समस्या समाधान हुन सकेको छैन। स्थानीय सरकारले नगर प्रहरी परिचालन गरेर व्यवस्थापन गर्नुपर्ने देखिन्छ।’

उनका अनुसार उपभोक्ताले पनि होटल–पसलमा सरसफाइको अवस्थामाथि ध्यान दिनु र बासी खाना तथा म्याद नाघेको वस्तु देखेमा जानकारी गराउने जस्ता कदम चाल्दा यस्ता अनियमितता नियन्त्रणमा आउन सक्नेछ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस