तुलसीपुर, भदौ २३ । उच्च अदालत तुलसीपुरले पश्चिम दाङको गहतेखोला–बाघमारे सडक निर्माण कार्य रोक्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ। गुरु प्रसाद सुवेदी र जिवराज केसीले आफ्ना जग्गा बलजफ्ती मिचेर सडक बनाइँदै गरेको भन्दै अदालतमा निवेदन दिएका थिए।

आइतबार बसेको एकल इजलास, न्यायाधीश नर बहादुर खडकाको नेतृत्वमा, निर्माण कार्य रोक्ने आदेश जारी गर्दै भदौ २९ गते छलफलका लागि दुबै पक्षलाई अदालतमा उपस्थित हुन बोलाएको छ।

सुवेदी र केसीले सडक पूर्वाधार कार्यालय, तुलसीपुर उपमहानगरपालिका–१, २ र ८ नम्बर वडा कार्यालय, निर्माण कम्पनी तथा उपभोक्ता समितिलाई विपक्षी बनाएर निवेदन दिएको अदालतका सूचना अधिकारी कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयो।

सडक निर्माण कार्य अश्वारा स्थित किरण शाहको घरदेखि मावि अश्वारा स्कुलको बीचमा सुरु हुन लाग्दा नजिकका जग्गा धनीहरूले उच्च अदालतमा निवेदन दिएका हुन्। गुरु प्रसाद सुवेदी नेपाली कांग्रेसका नेता तथा तुलसीपुरका गल्ला व्यापारी हुन् भने जिवराज केसी अश्वाराका स्थायी बासिन्दा हुन्।

केहि दिनअघि सडक छेउँका जग्गा धनीहरूले सडक निर्माण रोक्न सामूहिक छलफलसमेत गरेका थिए। अघिल्लो वर्ष नेपाली कांग्रेसका पूर्व नगर सभापति किरण बहादुर शाहले सडक स्तरनोन्टीको क्रममा अवरोध गरे पनि यसपटक उक्त क्षेत्रमा सडक चौडा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस