घाेराही, भदाै २३ । त्रिभुवननगर जेसीजद्वारा आयोजित सात दिने “तालिम म्याराथन–२०२५” आज (भदौ २३ गते) सफलतापूर्वक सम्पन्न भएको छ।सातौँ दिनको कार्यक्रम त्रिभुवननगर जेसीजका अध्यक्ष टंक रावत (अनन्त)को अध्यक्षतामा तथा लुम्बिनी प्रदेश सभा सदस्य लोका कुमारी विकको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

अन्तिम दिन (भदौ २३ गते) त्रिभुवननगर जेसीज कार्यालयमा “माइन्यूट तथा प्रतिवेदन लेखन” विषयमा प्रशिक्षण दिइएपछि ‘तालिम म्याराथन–२०२५’ विधिवत् रूपमा समापन गरिएको हो।

खेल संयोजक रणबहादुर खड्का संयोजक रहेको उक्त प्रशिक्षणमा नेपाल संस्कृत विश्वविद्यालयका उप–प्राध्यापक दुर्गालाल केसी प्रशिक्षक रहनुभएको थियो।

कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष निशान्त आचार्य, त्रिभुवननगर जेसीजका पूर्व अध्यक्ष भोला नाथ अधिकारी, दाङ जिल्ला अदालतकी शाखा अधिकृत मञ्जु शर्मा, नेपाल संस्कृत विश्वविद्यालयका उप–प्राध्यापक किशोर चन्द्र गौतम, एक्यान दाङका अध्यक्ष सिए कैलाश खत्री, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, महेन्द्र बहुमुखी क्याम्पसका निवर्तमान अध्यक्ष मनोज डीसहित अन्यको उपस्थिति थियो।

प्रमुख अतिथि विकले त्रिभुवननगर जेसीजले युवाको नेतृत्व र व्यक्तित्व विकासमा पु¥याएको योगदानको प्रशंसा गर्दै, सामुदायिक स्तरमा गएर विद्यार्थी तथा युवाको क्षमता अभिवृद्धिमा संस्थाले खेलेको महत्वपूर्ण भूमिकाको सराहना गर्नुभयो। उहाँले यस्ता कार्यक्रमहरूले व्यवहारिक सीप र सकारात्मक सोचसहितको जीवनशैली विकासमा योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी प्रमुख प्रशिक्षक केसीले बैठकको माइन्युट र प्रतिवेदन लेखनलाई संगठनको आधिकारिक दस्तावेजका रूपमा व्याख्या गर्दै यसमा स्पष्टता, समयानुकूलता र तथ्यपरकता आवश्यक पर्नेमा जोड दिनुभयो। उहाँले “माइन्युट कसरी लेख्ने, प्रतिवेदनमा कुन–कुन पक्ष समावेश गर्नुपर्छ र तथ्याङ्क तथा निष्कर्ष कसरी प्रस्तुत गर्ने” भन्ने विषयमा व्यावहारिक उदाहरण प्रस्तुत गर्दै प्रतिवेदनलाई संस्थाको कार्यप्रगति, उपलब्धि र आगामी कार्ययोजना प्रस्ट पार्ने दस्तावेजका रूपमा जिम्मेवारीपूर्वक लेख्न सहभागीहरूलाई प्रेरित गर्नुभयो।

युवाहरूमा नेतृत्व क्षमता अभिवृद्धि, व्यक्तित्व विकास तथा जेसीजको पहिचानलाई लक्ष्य राखी भदौ १६ देखि २३ गतेसम्म घोराहीस्थित विभिन्न शैक्षिक संस्थामा चरणबद्ध रूपमा यो तालिम सञ्चालन गरिएको थियो।

जेसीज अध्यक्ष रावतका अनुसार, तालिम म्याराथनले युवाहरूमा नेतृत्व विकास, व्यक्तित्व अभिवृद्धि र सीप विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस