काठमाडौं,भदौ २४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सम्पूर्ण सांसदहरूले पदबाट राजीनामा दिने तयारी गरेका छन्।

रास्वपाको संसदीय दल बैठकमा सबै सांसदलाई राजीनामा गराउने विषयमा छलफल भइरहेको र यस सम्बन्धमा निर्णय हुने तयारी भएको एक सांसदले अनलाइनखबरलाई बताए।

‘हालको राजनीतिक घटनाक्रमलाई दृष्टिगत गर्दै सबै सांसद राजीनामा गर्न तयार भएका हौं,’ उनले भने। रास्वपाका प्रवक्ता मनिष झाले बैठक भर्खरै सुरु भएको जानकारी दिएका छन्।

सहकारी ठगी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेले सोमबार साँझ मागहरू सम्बोधन नहुने अवस्था आए आफ्ना सांसदलाई राजीनामा दिन तयार रहन निर्देशन दिएका थिए।

यसअघि जेनजी युवाहरूको प्रदर्शनमा सोमबार प्रहरीले चलाएको गोली लागी १९ जनाको मृत्यु भएको थियो। सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध आन्दोलनमा उत्रिएका युवामाथि सुरक्षा निकायले दमन गरेपछि स्थिति नियन्त्रणबाहिर पुगेको हो। रास्वपाले उक्त आन्दोलनमा ऐक्यबद्धता जनाएको छ।

मंगलबार पनि युवाहरू काठमाडौंसहित देशका विभिन्न स्थानमा सडकमा उत्रिएर संसद् विघटन र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गरिरहेका छन्। प्रतिनिधिसभामा रास्वपाका २१ जना सांसद रहेका छन्, जसमध्ये असिम शाहले यसअघि नै राजीनामा दिने घोषणा गरिसकेका छन्

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस