घोराही, भदाै २५ । जेनजी आन्दोलनको प्रभावले जिल्लाको प्रमुख प्रशासनिक केन्द्र घोराही बजार मंगलबार दिनभर तनावपूर्ण रह्यो। प्रदर्शनकारीहरूले ठूला राजनीतिक दलका जिल्ला कार्यालय, सरकारी निकाय, उपमहानगरपालिका र वडा कार्यालय मात्र नभई नेताहरूको निजी घरसमेत तोडफोड गरेका छन्।

नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का जिल्ला पार्टी कार्यालयमा तोडफोड गरी भित्रका कागजात बाहिर निकालेर जलाइएको छ। दिनभर तनावग्रस्त बनेको घोराहीमा प्रहरी पक्षले अश्रुग्याँससमेत प्रयोग गरेको थियो। प्रदर्शनकारीहरूले घोराही उपमहानगरपालिकाको कार्यालय तोडफोड गर्नुका साथै कार्यालय अगाडि सरसफाइ कर्मचारीका लागि बनेको भवनमा पनि आगजनी गरेका छन्। यस्तै उपमहानगरपालिकाको १४ र १५ नम्बर वडा कार्यालय, नगर विकास समितिको कार्यालय र विपीचोकस्थित विपीको शालिकमा तोडफोड तथा आगजनी गरिएको छ।

बजार क्षेत्रमा रहेको नापी कार्यालयमा समेत आगजनी गरिएको छ। नापी कार्यालयका प्रमुख पुरन चौधरीका अनुसार कार्यालयका सबै महत्वपूर्ण कागजात जलेर नष्ट भएका छन्। कांग्रेस नेता राजु खनालको घरमा समेत प्रदर्शनकारीले तोडफोड गरी सामान सडकमा ल्याएर जलाएका थिए।

त्यसैगरी घोराही–२ सुर्केडाँगीस्थित उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको घरमा पनि तोडफोड र आगजनी भएको छ।

दाङ जिल्ला अदालत र सरकारी वकिल कार्यालय पनि प्रदर्शनकारीको निशानामा परे। बाजागाजासहित हिँडेका समूहहरूले देखिएका अधिकांश सरकारी कार्यालयमा तोडफोड गरेका थिए।

निजी क्षेत्रमा सञ्चालनमा रहेको होटल मालाइनमा समेत तोडफोड र आगजनी गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयमा आगजनी गर्नुका साथै बजारका चोक–चोकमा रहेका ट्राफिक आइल्याण्ड र प्रहरी बिटमा पनि तोडफोड तथा आगजनी गरिएको छ। जिल्ला समन्वय समितिमा रहेका सरकारी मोटरसाइकलमा समेत आगजनी गरिएको छ। कार्यालयहरूमा तोडफोडसँगै भित्रका कागजात पनि जलाइएका छन्।

त्यस्तै शिक्षा विकास तथा समन्वय इकाई दाङको कार्यालयमा समेत तोडफोड भएको छ। सूचना अधिकारी तिलकराम बञ्जाडाका अनुसार कार्यालयको गेट फोडेर झ्यालका सिसा फुटाइएका छन्।

घरेलु तथा साना उद्योग कार्यालयमा आगजनी गरी क्षति पुर्‍याइएको छ। प्रदर्शनकारीहरूले घोराहीस्थित कृषि ज्ञान केन्द्र, नेपाल विद्युत प्राधिकरण, जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालयमा समेत ढुंगामुढा र तोडफोड गरेका छन्। त्यसैगरी इलाका प्रहरी कार्यालय नारायणपुर र कांग्रेसको वडा कार्यालयमा पनि आगजनी गरिएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस