काठमाण्डौ, भदाै २६ । नयाँ सरकार गठनका लागि प्रधानसेनापति अशोकराज सिग्देलले आज पनि छलफल गर्दै हुनुहुन्छ । अस्ति मङ्कलवार राति वार्ताका लागि आह्वान गरेका उहाँले हिजो दिनभर विभिन्न पक्षसँग संवाद गर्नुभएको थियो । थप छलफलका लागि उहाँले आज बिहान सबै पक्षको बैठक डाक्नुभएको छ ।
प्रधानसेनापति सिग्देलले हिजो दिनभर आन्दोलनरत जेन–जी पुस्ताका प्रतिनिधिहरू, धरानका मेयर हर्क साम्पाङ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतसँग छलफल गर्नुभएको थियो । उहाँले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह र कुलमान घिसिङलगायतसँग पनि टेलिफोनमा संवाद गर्नुभएको थियो ।
हिजो प्रधानसेनापतिसँगको भेटमा धेरैले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भए स्वीकार्य हुने सुझाव दिएका छन् । तर यसमा जेन–जीका विभिन्न समूहबीच एकरूपता छैन । धेरैले पूर्वप्रधानन्यायाधीश कार्कीको कानूनी पृष्ठभूमि र अनुभवका कारण उहाँकै नेतृत्वमा अन्तरिम सरकार गठन हुनुपर्ने सुझाव दिएका छन् ।
जेन–जी समूहमा कार्कीसँगै काठमाण्डौ महानगरपालिकाका मेयर बालेन, धरानका मेयर हर्क साम्पाङ, विद्युत् प्राधिकरणका पूर्वनिर्देशक कुलमान घिसिङ, वैज्ञानिक महावीर पुन, डाक्टर सन्दुक रुइतलगायतको नाम चर्चामा छ । बालेनले सामाजिक सञ्जालमार्फत सुशीला कार्कीको नाममा समर्थन जनाउनुभएको छ । त्यसैले उहाँकै नेतृत्वमा सरकार बन्ने सम्भावना रहेको धेरैको विश्लेषण छ ।
संसद रहेको बेला नागरिक सरकार बन्ने संवैधानिक व्यवस्था नभएको र संसद विघटन गर्ने प्रक्रिया पनि नरहेकाले यसको विकल्पबारेमा पनि छलफल भैरहेको छ । तर सरकारको कार्यकारी प्रमुख र संसद नरहेको अवस्थामा राजनीतिक जिम्मेवारी पाएका राष्ट्रपति रामचन्द्र पौडेल भने अहिलेसम्म मौन र निष्क्रिय देखिनुभएको छ ।
जेन–जी आन्दोलनपछि सत्ताच्युत भएका मुख्य दुई दल कांग्रेस र एमालेले संविधानसम्मत, संसदीय, कानूनी र लोकतान्त्रिक मार्गबाटै समाधान खोज्नुपर्ने भन्दै राष्ट्रपति पौडेल र जेन–जी अभियन्ताहरूको ध्यानाकर्षण गराएका छन् ।
कांग्रेस महामन्त्रीहरु विश्वप्रकाश शर्मा र गगन थापाले एउटा तथा एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले अर्को विज्ञप्ति निकालेर आन्दोलनको समाधानका लागि सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गर्नुभएको हो । विधिहीनताले देश थप अराजकताको भुमरीमा पर्नेतर्फ उनीहरूले सचेत गराएका छन् । संवैधानिक रिक्तता र शून्यता आउन नदिन उनीहरूको सुझाव छ ।












