काठमाण्डाैँ, भदाै २६ । जंगी अड्डामा बसेको जेनजी प्रतिनिधिहरूको बैठकले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार गठन गर्ने प्रस्ताव अघि सारेको छ। उक्त प्रस्ताव नेपाली सेनाका प्रमुख अशोकराज सिग्देललाई पठाइएको छ।

एक उच्च सैनिक अधिकारीका अनुसार, “उहाँहरूले सम्माननीयको नाम सिफारिस गर्नुभएको छ, तर अन्य समूहसँग पनि कुरा भइरहेको छ।” सेनाले पूर्वप्रधानन्यायाधीश कार्कीसँग पनि संवाद गर्ने जनाएको छ।

बुधबार दिनभर जेनजी युवाहरूले डिस्कर्डलगायत सामाजिक सञ्जालमा नेतृत्वबारे छलफल गरेका थिए, जसमा कार्कीको पक्षमा उल्लेख्य समर्थन देखिएको थियो। धेरैले काठमाडौं महानगरका मेयर बालेन शाहको नाम पनि प्रस्ताव गरेका थिए, तर शाह सम्पर्कमा नआएको उनीहरूको गुनासो छ। मंगलबार बेलुकी बालेन शाहले सामाजिक सञ्जालमार्फत जेनजीलाई सेना प्रमुखसँग वार्ताका लागि तयार रहन आग्रह गरेका थिए।

बुधबार बिहान जेनजी प्रतिनिधिहरू जंगी अड्डामा वार्ताका लागि पुगेका थिए। तर छलफलमा १५ जनाभन्दा बढी उपस्थित भएपछि सेना प्रमुख सिग्देलले पहिले आपसी सहमति र संयोजक तोकेर आउन अनुरोध गरेका थिए। त्यसपछि जंगी अड्डाकै एउटा कोठामा बैठक बसेको थियो।

बैठकका क्रममा कतिपयले गणतान्त्रिक व्यवस्थाविरुद्ध प्रस्ताव राखेपछि रक्षा बमसहितको समूह छलफलबाट बाहिरिएको बताइएको छ। यद्यपि अन्ततः कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउने सहमति बैठकले गरेको छ

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस