दाङ, भदाै २६ । जेन–जीकाे आन्दोलनले दाङमा सरकारी र निजी संरचनामा व्यापक क्षति भइ सेवाग्राही मारमा परेका छन । भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जाल नियमनको मागसहित दाङमा जेन–जी पुस्ताले सञ्चालन गरेको आन्दोलन हिंसात्मक रूप लिँदा सरकारी, राजनीतिक दलका कार्यालय र निजी संरचनामा ठूलो क्षति पुगेको छ। प्रारम्भिक तथ्यांकअनुसार ४८ सरकारी निकाय, नौ वटा पार्टी कार्यालय, पाँच सार्वजनिक तथा व्यावसायिक भवन र आठ निजी निवासमा तोडफोड र आगजनी भएको छ।

घोराहीमा मात्रै ४३, तुलसीपुरमा २४ र लमहीमा सात ठाउँमा आक्रमण भई कम्तीमा ७४ कार्यालय तथा संरचना ध्वस्त भएको विवरण आएको छ। घोराहीमा जिल्ला मालपोत, नापी, उपमहानगरपालिका, वडा कार्यालयहरू, जिल्ला अदालत, सरकारी वकिल, भूमि आयोग, नगर विकास, शिक्षा समन्वय इकाइ, खानेपानी, सडक, पूर्वाधार विकास, निर्वाचन र जिल्ला समन्वय समिति जस्ता सेवाग्राहीसँग प्रत्यक्ष सम्बन्धित कार्यालयमा क्षति पुगेको छ।

तुलसीपुरमा उपमहानगरपालिकासहित मालपोत, उच्च अदालत, सरकारी वकिल, नापी, लोकसेवा आयोग, इलाका प्रशासन, आन्तरिक राजश्व, यातायात, आयल निगम, नगर विकास, सिंचाइ र भूसंरक्षण कार्यालयमा आक्रमण भएको छ। लमहीमा नगरपालिकाको कार्यालय, वडा नं. ५ र प्रदेश मन्त्री निवासमा समेत क्षति पुगेको बताइएको छ।

सार्वजनिक भवन र सामाजिक संस्थामा पनि असर परेको छ। घोराहीको सभाहल, जेसीज भवन, होटेल तथा तुलसीपुरको बहुउद्देश्यीय व्यापारिक टावरमा तोडफोड र आगजनी भएको छ। राजनीतिक दलका कार्यालयमा समेत आगजनी गरिँदा नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका गरी नौ वटा कार्यालय जलेका छन्।

उनीहरूले नेकपा एमालेका महासचिव शंकर पोख्रेल, कोमल वली, हिराचन्द्र केसी, शिवकुमार आचार्य, नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी, लुम्बिनी प्रदेशसभा सदस्य राजु खनाल, घोराही उपमहानगरका मेयर नरुलाल चौधरी र उपमेयर हुमाकुमारी डिसीका घरमा पनि आक्रमण गरेका छन्। क्षति करोडौँमा पुगेको अनुमान गरिएको छ।

कार्यालयहरू जलेर नष्ट भएपछि सेवाग्राही प्रभावित भएका छन्। उपमहानगरपालिका, वडा कार्यालय, अदालत, मालपोत र नापीजस्ता निकायका कम्प्युटर, इन्टरनेट, फाइल तथा महत्वपूर्ण तथ्यांक नष्ट हुँदा तत्काल सेवा दिन सक्ने अवस्था छैन। तुलसीपुर उपमहानगरका प्रवक्ता माधव वलीका अनुसार भवन व्यवस्थापन गर्न सके छिटोमा एक महिना लाग्न सक्छ।

मालपोत र नापी कार्यालयले सम्पूर्ण अभिलेख गुमाएकाले तत्काल सेवाग्राहीलाई सुविधा दिन असम्भव भएको जनाएको छ। नापी कार्यालय प्रमुख पुरन चौधरीले नाप र नक्सासहितका सबै सामग्री जलेर खरानी भएकाले कम्तीमा पाँच महिना सेवा दिन नसकिने बताए। मालपोत अधिकृत कृष्णप्रसाद पौडेलले केन्द्रीय सर्भरमा डाटा सुरक्षित भए छिट्टै सेवा दिन सकिने तर हाल कार्यालयबाट काम गर्ने अवस्था नरहेको बताए।

आगजनीले जन्म, मृत्यु दर्ता, नागरिकता, पासपोर्ट, विदेश अध्ययनका सिफारिस, सामाजिक सुरक्षा नवीकरण, गम्भीर रोगका बिरामीका सिफारिस, जग्गा नामसारी र कारोबारजस्ता काम पूर्ण रूपमा अवरुद्ध भएका छन्। स्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख राधा पौडेलका अनुसार वडास्तरका स्वास्थ्य केन्द्रमा औषधि वितरण, नियमित खोप र सचेतनामूलक कार्यक्रम रोकिएको छ। जिल्ला अदालतका स्रेस्तेदार भुपाल भण्डारीका अनुसार मिसिल जलेर मुद्दा व्यवस्थापनमा समस्या आएको छ।

नापी प्रमुख चौधरीको भनाइ छ, “तोडफोड र आगजनीले कार्यालय पूर्ण रूपमा ध्वस्त छ, यस्ता अवस्थामा सेवा दिन कठिन छ।”

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस