घाेराही, भदाै २६ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आकस्मिक अवस्थामा बिरामीको उपचारका लागि विशेष तयारी गरेको छ। औषधि, उपकरण र चिकित्सकलाई सतर्क अवस्थामा राखिएको प्रतिष्ठानको शाखा प्रमुख रमिता गौतमले जानकारी दिइन्।
उनका अनुसार मंगलबारको आन्दोलनका क्रममा घाइते भएका १६ जना उपचारका लागि आएका थिए। तीमध्ये सबैजना डिस्चार्ज भइसकेका छन् भने आयुष परियारलाई हालसम्म भर्ना गरेर उपचार भइरहेको छ। छातीमा गोली लागेका सरनकुमार यादवको तत्कालै अपरेसन गरिएको र अर्का एक गम्भीर घाइतेलाई पनि अपरेसन गरी अस्पतालमै राखिएको गौतमले बताइन्।
उपचार खर्चबारे भने हालसम्म कुनै निर्णय नभएको तर आन्दोलनमा घाइते भएकाहरूको उपचार भने निरन्तर भइरहेको उनले बताइन्। आकस्मिक परिस्थितिका लागि चिकित्सक र वार्डहरूमा छुट्टाछुट्टै बैठक बसेर तयारी मिलाइएको छ।
साथै, बन्दका कारण अन्य स्वास्थ्य संस्थाबाट सुत्केरी सेवा लिन आउनेको संख्या बढेको उनले उल्लेख गरिन्। “आज मात्रै डेलिभरीका आठवटा अपरेसन भइसकेका छन्,” गौतमको भनाइ छ, “नौ वटा क्याबिन पूरा भरिएका छन् र नर्मल डेलिभरी पनि १८ जना भइसकेका छन्, थप बिरामी पनि आइरहेका छन्।”
कफ्र्यूका कारण बिरामीको आवागमन केही घटे पनि उपचार सेवा अवरुद्ध नभएको उनले बताइन्। चिकित्सकहरूको आवतजावतको व्यवस्था मिलाइएको र विशेषज्ञको कमी नआउने गरी सेवा दिइएको प्रतिष्ठानको दाबी छ। अपरेसनदेखि सामान्य उपचारसम्म सबै सेवा उपलब्ध गराइएको र कुनै गुनासो आए तत्काल सम्बोधन गर्ने व्यवस्था प्रशासनले गरेको जनाएको छ।

