दाङ,  भदौ २६ । भदौ २३ गते काठमाडौंमा १९ जना विद्यार्थीको ज्यान गएकाे दुःखद घटनाप्रति नेकपा (एमाले) दाङले गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। नेपालमा प्रतिबन्धित सामाजिक सञ्जाल र भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले थालेको आन्दोलनमा सरकार पक्षले अनावश्यक बल प्रयोग गरी हत्या गरेको आरोप लगाउँदै बैठकले घटनामा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेको छ।

बैठकले जेनजी पुस्ताले अघि सारेका मागहरूलाई २०६२/०६३ को जनआन्दोलनपछि प्राप्त संविधानको मर्मअनुसार सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ। त्यस्तै सिंहदरबार, सर्वोच्च अदालत, उच्च अदालतदेखि लिएर दाङका तुलसीपुर, घोराही उपमहानगरपालिका लगायतका पालिका, वडा, मालपोत, नापी, सिँचाइसहितका सरकारी कार्यालयमा भएको आगजनीप्रति घोर निन्दा गर्दै दोषीमाथि कारबाहीका लागि छानबिन आयोग गठन गर्न सरकारलाई आग्रह गरेको छ।

विशेष बैठकलाई सम्बोधन गर्दै पार्टी अनुशासन आयोगका केन्द्रीय सदस्य छबिलाल वली र पार्टी दाङका पूर्वअध्यक्ष टिकाराम खडकाले कार्यकर्ताहरूलाई निराश नहुन आह्वान गरेका छन्।

सरसफाइ, पुनर्निर्माण, सामाजिक सद्भाव र सहिष्णुताका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै नेताद्वय वली र खडकाले “खरानीको जगबाट राष्ट्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न फेरि उठ्ने बेला आएको छ” बताएका छन्।

नेकपा (एमाले) दाङका उपाध्यक्ष मनोहर बुढाथोकीको अध्यक्षतामा बसेको बैठकको सहजीकरण सचिव श्याम डाँगीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस