काठमाण्डाै, भदाै २६ । आजका पुस्ताले नयाँ प्रविधिलाई आत्मसात् गर्दै शिक्षा लिइरहेकाले शिक्षालय बन्द भए पनि सिकाइलाई निरन्तरता दिन सकिने शिक्षाविद् डा. विद्यानाथ कोइरालाले बताउनुभएको छ ।
हिजोका पुस्ताले जङ्गलबाट शिक्षा लिएका थिए तर आजका पुस्ताले प्रविधिमा शिक्षा लिइरहेकाले त्यसैलाई स्वीकार गरी पठनपाठनलाई निरन्तरता दिनुपर्नेमा काेइरालाकाे जोड छ । अबको शिक्षाले प्रविधि, पुस्तक र पुर्खालाई पनि जोड्नुपर्ने उहाँ बताउनुहुन्छ । अहिलेकाे विषम परिस्थितिमा घरमै बसेर पढ्न सकिने तर त्यसका लागि तीन तरिका रहेको शिक्षाविद् काेइरालाले उल्लेख गर्नुभयाे ।
पुरानो तरिका, आधुनिक तरिका तथा पुरानो र आधुनिक जोडेर नयाँ तरिका अपनाएर पढ्न सकिन्छ । पुरानो तरिका भनेको बाँस भेट्टाए बाँसमै केही सिक्ने, रुख भेट्टाए रुख नै पढ्ने । जनावर भेट्टाए जनावर नै पढ्ने । दोस्रो भनेको आधुनिक तरिका हो । याे प्रविधिमा आधारित रहेर पढ्ने तरिका हो । याे तरिका आजभोलिको व्यवस्था अनुसार को हो । तेस्रो तरिका भनेको आधुनिकता र पुरानो तरिका जोड्ने हो । पढाउने विषयलाई जिन्दगीका कुरासँग जोड्न सकियो भने शिक्षालय बन्द हुँदा पनि सिक्ने/सिकाउने कामले निरन्तरता पाउँछ । यो अभ्यासले शिक्षासँगै जीवनोपयोगी सीप पनि सिक्न सकिन्छ ।
काेराेना (काेभिड–१९) महामारीकाे समयमा एकअर्कालाई छुन पनि नमिल्ने हुँदा डरलाग्दो परिस्थिति थियाे । अहिले त्यो बेलाजस्तो अवस्था छैन । यो बेला वर्तमान अवस्थाका बारेमा ज्ञान लिन सकिन्छ र यस विषयमा छलफल पनि गर्न सकिन्छ तर यसका लागि फेरि पठनपाठन नै जरुरी रहेको छ । शिक्षक र शिक्षालयले पढाइलाई किताब, घर, अनुसन्धान र प्रविधिसँग जोड्नुपर्छ । शिक्षकहरूले समस्या समाधानका उपायमा सहयोग गर्न पनि सक्ने भएकाले शिक्षालय बन्द हुँदा पनि कुनै बाधा व्यवधानबाट पढाइलाई परियोजनासँग जोडेर सिकाउन सक्छन् ।
अहिलकाे परिदृश्य र सामाजिक सञ्जालमा देखिएका घटनाले कतिपयकाे मन अशान्त पनि रहन सक्छ । तर यो बेला बुद्धको चिन्तन स्मरण गरी अघि बढ्न जरुरी छ । बुद्धले भन्नुभएको छ, जुन कुरा हामीले बदल्न सक्दैनौँ, त्यसमा पीडा लिएर अलमलिएर बस्नुको कुनै अर्थ छैन ।
(शिक्षाविद् डा. विद्यानाथ कोइरालासँग उज्यालाेकाे कुराकानीमा आधारित ।)

