दाङ, भदौ २७ । जेन–जी पुस्ताको आन्दोलनपछि लागू गरिएको कफ्र्युबीच पनि दाङमा अत्यावश्यक वस्तुको आपूर्ति निरन्तर भइरहेको छ। प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार कफ्र्यु अवधिमा औषधि, अक्सिजन, सञ्चार सामग्री, पेट्रोलियम पदार्थ, ग्यास, तरकारी, दूध, फलफूल, पानी र खाद्यान्नजस्ता सामग्रीको आयात–निर्यातमा कुनै अवरोध छैन।
अर्यालले निजी क्षेत्रलाई जानकारी दिँदै “कफ्र्युका बाबजुद अत्यावश्यक वस्तुको सहज आपूर्ति सुनिश्चित गरिएको छ” बताएका छन्। नागरिकलाई यस्ता सामग्री खरिद गर्न बिहान ९ बजेसम्मको समय तोकिएको उनले स्पष्ट पारे। “सुरक्षा अवस्था हेरेर नागरिकलाई थप सहज बनाउने निर्णय गरिनेछ,” उनले भने।
दुध सङ्कलन र वितरण पनि नियमित रूपमा भइरहेको स्थानीय सहकारीहरूले बताएका छन्। गढवा गाउँपालिकास्थित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्थाले किसानबाट दुध संकलन गरी बजारसम्म पु¥याउने काम गरिरहेको जनाएको छ।
सहकारीका बजार व्यवस्थापक कैलाश चौधरीका अनुसार किसानहरूलाई दुध ल्याउन सहज वातावरण मिलाइएको छ। बिहीबार मात्र सहकारीमार्फत १,२७० लिटर दूध बुटवल पठाइएको र ३० लिटर स्थानीय बजारमा बिक्री भएको छ। उनका अनुसार दुई दिनमा करिब १,३०० लिटर दूध संकलन भएको छ।












