काठमाडौं, भदौ २७ । जेन–जी आन्दोलनपश्चात देशभर देखिएको तोडफोड, आगजनी र लुटपाटले होटल तथा पर्यटन उद्योगलाई गहिरो संकटमा पुर्‍याएको छ। होटल संघ नेपालले जारी गरेको विज्ञप्तिमा करिब दुई दर्जन होटल पूर्ण रूपमा ध्वस्त पारिएको र प्रारम्भिक अनुमान अनुसार २५ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको उल्लेख गरिएको छ।

प्रभावित होटलहरू काठमाडौं, पोखरा, बुटवल, विराटनगर, भैरहवा, धनगढी, झापा, महोत्तरी र दाङ लगायतका प्रमुख पर्यटकीय तथा व्यापारिक सहरमा रहेका छन्। संघका अनुसार राजधानीस्थित हिल्टन होटलमा मात्र ८ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको छ। त्यस्तै, अन्य धेरै स्वदेशी र अन्तर्राष्ट्रिय ब्रान्डका होटलहरू पनि आंशिक वा पूर्ण रूपमा जलेका वा भत्काइएका छन्।

विज्ञप्तिमा भनिएको छ, “यी संरचनाहरू मर्मत वा पुनर्निर्माणबिना सञ्चालनमा ल्याउन सकिन्न। चाडपर्व नजिकिँदै गर्दा करिब दुई हजारभन्दा बढी कर्मचारीको रोजगारी गुम्ने अवस्था देखिएको छ।”

संघले थप जनाएको छ कि बैंक तथा वित्तीय संस्थासँगको ऋण, बीमा दायित्व र रद्द भएका सिजनल बुकिङहरूले यो क्षेत्रमा दीर्घकालीन संकट ल्याउने सम्भावना छ। तत्काल राहत, क्षतिपूर्ति र सुरक्षा सुनिश्चित गर्न सरकारलाई आग्रह गर्दै संघले चेतावनी दिएको छ– “यदि समयमा ध्यान दिइएन भने, नेपाली पर्यटन उद्योग दशकौँ पछाडि धकेलिनेछ।”

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस