दाङ, भदौ २७ । दाङमा विभिन्न क्षेत्रलाई समेट्ने गरी कर्फ्यू आदेश जारी गरिएको छ । हाल दाङ जिल्लामा भइरहेको विरोध प्रदर्शन, जुलुस तथा सार्वजनिक सम्पत्तिमा तोडफोड, आगजनी जस्ता हिंसात्मक गतिविधि दोहोरिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, दाङले कर्फ्यू आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार, स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम मिति २०८२ भदौ २७ गते अपराह्न ५:०० बजेदेखि २०८२ भदौ २८ गते बिहान ५:०० बजेसम्म कर्फ्यू आदेश लागू हुनेछ। आदेशको अवधिभर तोकिएका क्षेत्रमा कुनै पनि व्यक्तिले आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ।
कर्फ्यू आदेश लाग्ने क्षेत्रहरू:
राप्ती गाउँपालिका – प्रदेश सभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको क्षेत्र र भालुवाङ बजार वरिपरि: पश्चिममा गोपीनाला र पूर्वमा भालुवाङ पुलसम्म।
घोराही उपमहानगरपालिका – पश्चिममा झिगौरा चोक, दक्षिणमा प्रहरी बोर्डिङ स्कुलदेखि गोरखा बोर्डिङ स्कुलनजिकको कटुवा खोला पुल, पूर्वमा मितेरी हस्पिटलदेखि रझेना स्कूलसम्म र उत्तरमा फुर्सेकाली, ढोरेनी स्कुलदेखि सेवार खोला पुलसम्म।
तुलसीपुर उपमहानगरपालिका – पूर्वमा हात्तीखौवा, पश्चिममा कृष्ण मन्दिर, उत्तरमा आँखा अस्पताल र दक्षिणमा विमानस्थलसम्म।
लमही नगरपालिका – पूर्वमा अर्नवा, पश्चिममा अर्जुन खोला पुल र दक्षिणमा कोलही पुलसम्म।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालको हस्ताक्षरमा जारी आदेशमा तोकिएको समय र क्षेत्रभित्रको शान्ति सुरक्षा कायम राख्न सबैलाई सहयोग गर्न आग्रह गरिएको छ।












