
काठमाडौँ, भदौ २८ । नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्ने तयारीसँगै नयाँ मन्त्रिपरिषद् गठनको प्रक्रिया सुरु हुन लागेको छ। जेन–जी आन्दोलनका संयोजक सुद गुरुङले मन्त्रिपरिषद् पनि भोटिङ प्रणालीमार्फत चयन हुने जानकारी दिएका छन्। उनका अनुसार मन्त्रिपरिषद् सानो आकारको हुनेछ।
हालसम्म मन्त्री बन्ने व्यक्तिहरूको नाम सार्वजनिक नभए पनि आन्दोलनमा सक्रिय विभिन्न पृष्ठभूमिका प्रतिनिधिहरूलाई सरकारमा समावेश गर्ने तयारी भइरहेको स्रोतहरूले जनाएका छन्। सोही क्रममा भर्चुअल माध्यम प्रयोग गरेर नागरिकको सहभागिता सुनिश्चित गरिने बताइएको छ।
२३ र २४ भदौमा भएका ठूलो प्रदर्शनपछि जेन–जी समूहले २५ गते अनलाइन मतदानमार्फत सुशीला कार्कीलाई प्रधानमन्त्रीका लागि अघि सारेका थिए। उक्त सिफारिसका आधारमा राष्ट्रपति मार्फत नियुक्त भएपछि शुक्रबार राति उनले पदभार सम्हालेकी थिइन्।
बालुवाटारस्थित सरकारी निवासमा आन्दोलनकारीले तोडफोड गरेकाले अहिले कार्की आफ्नै निजी घरमै बसेकी छन्। उनी आइतबार औपचारिक रूपमा पद ग्रहण गर्ने तयारीमा छिन् र सोही दिनदेखि मन्त्रिपरिषद् गठन प्रक्रिया पनि अघि बढ्ने अपेक्षा गरिएको छ।

