दाङ, भदौ २८ । गत मंगलबारदेखि अवरुद्ध दाङका केहि क्षेत्रहरुमा शनिबारदेखि सार्वजनिक सवारी सञ्चालनमा आएसँगै जनजीवन सामान्य बन्दै गएको छ । बिहानै देखि सार्वजनिक बस, ट्याक्सी, अटो र साना गाडी बाक्लो संख्यामा सडकमा देखिएका छन् ।
जिल्लाभित्रका विभिन्न रुट तथा छिमेकी जिल्लातर्फ नियमित सवारी सञ्चालन भएको छ । यात्रुहरू सहजै गन्तव्यतर्फ प्रस्थान गर्न पाएका छन् भने लामो समयपछि बजार र पसलहरू पनि सामान्य रूपमा खुलेका छन् ।
तर, जेनजीको आह्वानमा भएको हिंसात्मक प्रदर्शन, तोडफोड र आगजनीका कारण अस्थिर बनेको दाङ जिल्लाका कतिपय क्षेत्रमा भने प्रशासनले पुनः निषेधाज्ञा आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ काे (३) (क) बमोजिम आज बिहान १०ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म निषेधाज्ञा लागू हुने जानकारी दिनुभयो ।












