दाङ, भदौ २९ । जेन–जी आन्दोलनको क्रममा तुलसीपुर कारागारबाट फरार भएका २ सय ५३ जना कैदीबन्दीमध्ये हालसम्म ८३ जना पक्राउ परेका छन् । अझै १ सय ७० जना फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको कारागार प्रशासनका प्रमुख गिरबहादुर सेजुवालले जानकारी दिनुभयो ।

भदौ २४ गते १ सय २४ जना र २५ गते १ सय २९ जना गरी कुल २ सय ५३ जना कैदीबन्दी कारागारको सुरक्षा घेरा तोडेर फरार भएका थिए । शनिबार दिउँसो ३ बजेसम्म ८३ जना मात्र पक्राउ परेका कारागार प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङले शनिबार एक सूचना जारी गर्दै फरार रहेका कैदीबन्दीहरूलाई आफू बसेको कारागार, तुलसीपुर वा नजिकको प्रहरी कार्यालयमा सम्पर्कमा आउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रसाद अर्यालद्वारा जारी सूचनामा, सम्पर्कमा नआए कारागार ऐन २०७९ तथा प्रचलित कानुनबमोजिम कारवाही गरिने चेतावनी दिइएको छ ।

यस्तै, जेन–जी आन्दोलनपश्चात तोडफोड र आगजनीपछि विभिन्न कारागारबाट भागेका १६ जना कैदीलाई वडा प्रहरी कार्यालय लमहीले पक्राउ गरेको छ । तीमध्ये बाल सुधार गृह नौवस्ता, बाँकेबाट ८ जना, तुलसीपुर कारागारबाट ५ जना, केन्द्रीय कारागारबाट २ जना र रुकुम पश्चिम कारागारबाट १ जना गरी कुल १६ जना पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये ८ जनालाई पुनः तुलसीपुर कारागार पठाइएको छ भने बाँकी ८ जनालाई बाल सुधार गृह नौवस्ता, बाँके पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस