दाङ, भदौ ३० । दाङ जिल्ला अदालत, घोराहीले तोडफोड र आगलागीका कारण अदालतमा रहेका विभिन्न सामग्री चोरी/लुटपाट भएको भन्दै ती सामग्री तत्काल फिर्ता गर्न अनुरोध गरेको छ।
अदालतका अनुसार २०८२ भदौ २४ गते भएको घटनामा कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, टेलिभिजनलगायतका उपकरण तथा मुद्दाका सक्कल मिसिल र राजश्व रकम समेत चोरी/लुटपाट भएको हो।
अदालतले जारी गरेको सूचनामा उक्त सामग्री तत्कालै अदालतमा बुझाई सहयोग गर्न सम्पूर्ण सम्बन्धित व्यक्तिहरूलाई आग्रह गरिएको छ। सामग्री फिर्ता नगरेमा अदालतमा रहेको सीसीटीभी फुटेज, सामाजिक सञ्जालमा सार्वजनिक भएका फोटो, भिडियो तथा मोबाइलमा खिचिएका तस्बिरका आधारमा एकिन गरी कानूनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।

त्यसैगरी, ती सामग्रीको अवस्थाबारे कुनै जानकारी भएमा ९८५७८२०१८५ नम्बरमा सम्पर्क गर्न वा नजिकको सुरक्षा निकायलाई जानकारी गराई सहयोग गर्न समेत अदालतले सबैलाई अनुरोध गरेको छ।












