राेल्पा, भदाै ३१ । रोल्पाको लुङ्री गाउँपालिका–२ र गोकुल माध्यमिक विद्यालयको समन्वयमा सिर्प प्रहरी चौकीले बालविवाह न्यूनीकरणका विषयमा सडक नाटक कार्यक्रम सम्पन्न गरेको छ। गोकुल माविको प्राङ्गणमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, बुद्धिजीवी, शिक्षक, अभिभावक, विद्यार्थी तथा सरोकारवालाको उल्लेख्य सहभागिता थियो।

सामाजिक मान्यता र परम्परागत सोचका कारण बालविवाह अझै पनि न्यूनिकरण हुन नसकेको भन्दै प्रहरी चौकी सिर्पका प्रहरी सहायक निरीक्षक दिपक किसानले बालविवाहलाई सामाजिक अपराध र मानव विकासको अवरोध दुवै भएको बताए। उनका अनुसार बालविवाहले आमा–शिशुको स्वास्थ्यमा समस्या ल्याउने, बहुविवाह र सम्बन्धविच्छेदजस्ता दीर्घकालीन विकृति निम्त्याउने भएकाले यसको समयमै रोकथाम आवश्यक छ।

बालविवाहलाई सहज स्वीकार्ने प्रवृत्ति, आधुनिक प्रविधिको दुरुपयोग र साथीभाइको देखासिकीले पनि यसलाई बढावा दिएको उल्लेख गर्दै उनले अभिभावक र किशोरकिशोरी दुवैलाई सैद्धान्तिक तथा व्यवहारिक शिक्षामार्फत सचेत गराउनुपर्नेमा जोड दिए।

हालै प्रहरी चौकीमा बालविवाहसम्बन्धी उजुरी बढ्दै गएपछि उक्त सन्देशमूलक नाटक कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा वडाध्यक्ष अमृत घर्ती मगर सभापति थिए भने बीव्यस अध्यक्ष नरेन्द्र खड्कासहित अन्य अतिथिहरूको उपस्थिति रहेको थियो।

प्रहरी चौकी सिर्पका कर्मचारी, गोकुल माविका शिक्षक–विद्यार्थी र स्थानीयको सहभागितामा प्रस्तुत नाटकमार्फत बालविवाहका कारण, प्रभाव र न्यूनीकरणका उपायबारे दीगो सिकाइ दिन उद्देश्य राखिएको थियो। करिब १,२०० जनाको सहभागितामा सम्पन्न कार्यक्रममा बालविवाह न्यूनीकरणका लागि समाजमा सकारात्मक चेतना फैलिने अपेक्षा गरिएको छ

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस