दाङ, भदौ ३१ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय सङ्घ नेपाल (नेशनल प्याब्सन) दाङले असोज १ गते जिल्लाभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएका आन्दोलनका क्रममा विद्यार्थी तथा युवाले ज्यान गुमाएको र धेरै घाइते भएको घटनाप्रति दुःख प्रकट गर्दै नेशनल प्याब्सन दाङले असोज १ गतेलाई राष्ट्रिय शोक दिवसको रूपमा विद्यालय बन्द राख्ने जनाएको हो।

प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपाने र सचिव हरिप्रसाद भण्डारीले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा दिवंगत आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरिएको छ भने घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभको शुभकामना दिइएको छ।

सरकारले असोज १ गते सार्वजनिक विदा दिने निर्णयलाई समर्थन गर्दै प्याब्सन दाङले उक्त दिन कक्षा सञ्चालन नगर्ने र असोज २ गतेदेखि भने नियमित पठन–पाठन सञ्चालन हुने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस