दाङ, भदौ ३१ । लुम्बिनी प्रदेश सरकारले आउँदो असोज ३ गते संविधान दिवस औपचारिक कार्यक्रमसहित मनाउने भएको छ।
मुख्यमन्त्री चेतनारायण आचार्यको उपस्थितिमा मङ्गलबार बसेको प्रदेश सरकारका सचिवहरूको बैठकले संविधान दिवसको अवसरमा बिहान ८ बजे कार्यक्रम आयोजना गर्ने निर्णय गरेको निमित्त प्रमुख सचिव लिलाधर सुवेदीले जानकारी दिए।
यसैबीच, भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा प्रदेश मातहतका कार्यालयहरूमा भएको आगजनीबाट पारेको क्षतिको विवरण संकलन भइरहेको र सामान्य मर्मत सम्भारपछि सञ्चालन गर्न सकिने कार्यालयहरूमा सेवा पुनः सुचारू गर्न मातहतका निकायलाई निर्देशन दिइएको सुवेदीले बताए।
मुख्यमन्त्री आचार्यले कर्मचारीहरूलाई मनोबल उच्च राखी सेवा प्रवाहमा सक्रिय हुन आग्रह गरेका छन्। सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन आवश्यक रहेको भन्दै उनले भने, “पाल टाँगेर भए पनि सेवा निरन्तरता दिन सकिन्छ, कर्मचारीहरू मनोबलका साथ काममा जुट्नुपर्छ।”
प्रदेशको प्रशासनिक केन्द्रको सुरक्षामा समुदायस्तरबाट भएको पहल, आन्दोलनरत पक्षको संवेदनशीलता तथा सुरक्षा निकायको जिम्मेवार भूमिकाप्रति पनि मुख्यमन्त्री आचार्यले आभार व्यक्त गरेका छन्।












