दाङ, भाद्र ३१ । घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसिले पदबाट आधिकारिक राजीनामा नदिएको स्पष्ट पार्नुभएको छ । नेकपा एमालेबाट उपप्रमुखमा निर्वाचित डिसिले हालैको जेन्जी आन्दोलनका क्रममा आफ्नो निवासमा समेत क्षति पुगेपछि सामाजिक सञ्जालमार्फत राजीनामा दिने अभिव्यक्ति दिनुभएको थियो । तर, उँहाले त्यसलाई औपचारिक राजीनामा ठान्न नहुने बताउनुभएको छ ।
भाद्र २३ र २४ गते घोराहीमा भएको जेन्जी आन्दोलनका क्रममा सरकारी कार्यालय तथा विभिन्न राजनीतिक दलका नेताहरुको निजी संरचनामा व्यापक क्षति पुगेको थियो । सोही क्रममा उपप्रमुख डिसिको निवासमा पनि तोडफोड भएपछि उँहाले परिवारको सुरक्षा र पारीवारीक दबाबका कारण भावनात्मक रूपमा सामाजिक सञ्जालमा राजीनामा दिने कुरा उल्लेख गरेको स्पष्ट गर्नुभएको हो ।
“मैले सामाजिक सञ्जालमा तत्कालीन परिस्थितिको दबाबका कारण राजीनामा दिने भनेकी थिएँ, तर त्यो औपचारिक प्रक्रिया थिएन । म अझै जिम्मेवारीमै छु,” उपप्रमुख डिसिले घोराहीबाट प्रशारण हुने ‘दंगाली मनका कुरा’ कार्यक्रमका सञ्चालक ई. अनन्तराज घिमिरेसँगको अन्तर्वार्तामा यस्तो बताउनुभएको हो ।
उँहाले हालको विषम परिस्थितिमा परिवारको सुरक्षाप्रति चासो राख्दै काम गर्ने चुनौती भएको स्वीकार गर्नुभयो । तर, उपमहानगरको जनप्रतिनिधिको हैसियतले आफूमाथि रहेको दायित्व पूरा गर्न प्रतिबद्ध रहेको पनि दोहोराउनुभयो । यो संगै आफु नियमित जनताको काममा फर्किएको बताउनुभयो । यसअघि सामाजिक सञ्जालमा राजीनामाको चर्चा चलेपछि घोराहीका नागरिकबीच विभिन्न टिप्पणी र अनुमान चलिरहेका थिए । उपप्रमुख डिसिको यस स्पष्टीकरणसँगै अब औपचारिक रुपमा राजीनामा नदिएको कुरा प्रष्ट भएको छ ।

